विराटनगर : नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समितिले कोशी प्रदेश सरकारले संसदमा पेस गरेको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’लाई प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भन्दै विरोध जनाएको छ । महासंघको निश्कर्ष अनुसार उक्त विधेयक नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको मर्म विपरीत रहेको छ ।
महासंघले शुक्रबार विराटनगरमा विभिन्न सञ्चारकर्मी, संघ–संगठनका प्रतिनिधिहरुसँग गरेको सर्वपक्षीय छलफलपछि आन्दोलनका चरणबद्ध कार्यक्रम घोषणा गरेको हो । महासंघका अनुसार विधेयक सच्याउन दबाब दिने उद्देश्यले पहिलो चरणको आन्दोलन सञ्चालन गरिने भएको छ ।
महासंघका महासचिव हिमाकुमारी चेम्जोङले जारी गरेको विज्ञप्तिमा सबै पत्रकार, जिल्ला शाखा, पत्रकार सम्बद्ध संघ–संस्था तथा नागरिक समाजलाई आन्दोलनमा सक्रिय ऐक्यवद्धता जनाउन आग्रह गरिएको छ ।
आन्दोलनका कार्यक्रम :
१. भदौ ९ गते – प्रदेशभरिका पत्रकारले सामाजिक सञ्जालमार्फत खबरदारी गर्ने ।
२. भदौ १० गते – मुख्यमन्त्री, विभागीय मन्त्री, संसदीय दलका नेता र प्रमुख सचेतकलाई भेट गरी ध्यानाकर्षण गराउने ।
३. भदौ ११ गते – प्रदेशसभा सदस्यहरुलाई सन्देश पठाउने ।
४. भदौ १२ गते – मुख्यमन्त्री कार्यालय तथा जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिने ।
५. भदौ १३ गते – विराटनगरको देवकोटा चौकमा दिउँसो १ बजे एक घण्टा धर्ना दिने ।
महासंघले विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण हुने खालका कुनै पनि कानुनी प्रावधानलाई खारेज गर्न प्रदेश सरकार र प्रदेशसभासँग माग गरेको छ । कोशीको आमसञ्चार विद्येकका विरुद्ध पत्रकारका संघ र संगठनहरुले यसअघिनै आन्दोलन थालिसकेका छन् ।
प्रतिक्रिया