प्रकाश तिम्सिना इटहरी । महेन्द्र राजमार्गमा पर्ने झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म चार लेन सडक निर्माण हुने भएको छ । एसियाली विकास बैंकको सहयोगमा सुरु हुन लागेको सडक करिब ३६ अर्ब लगानीमा निर्माण हुन लागेको हो ।
आयोजनाले हाल डक विस्तारका लागि आयोजनाले ठेक्का आह्वान गरेको छ ।
आयोजना सह निर्देशक राकेश महर्जनका अनुसार सडक विस्तार कार्यलाई तीन खण्डमा विभाजन गरेर निर्माणका लागि ठेक्का आह्वान गरिएको छ, जसमा यस सडक खण्डमा पर्ने ६ वटा पुल निर्माण समेत रहेको छ । यसको पहिलो खण्डमा निन्दा ब्रिज, बिरिङ ब्रिज र कन्काई ब्रिज प्रमुख पुलहरु रहेका छन । यस्तै, दोस्रो खण्डमा रतुवा ब्रिज, बक्रा ब्रिज र लोहेन्द्र ब्रिज निर्माणका लागि पनि ठेक्का आह्वान गरिएको छ ।
आयोजनाका अनुसार यो सडक विस्तार कार्य तीन वर्षमा सम्पन्न हुने बताइएको छ । तर हाल सम्म नेपाल सरकारले एसियाली विकास बैंकसगँ ऋण सम्झौता गरेको छैन । यदि चालु आर्थिक वर्ष भित्र सम्झौता गरे आगामी वर्षबाट काम सुरु हुने सहनिर्देशक महर्जनले जानकारी दिए । सडक निर्माण तिन वर्षमा सक्ने लक्ष्य राखिएपनि पुल निर्माणका लागि भने पाँच वर्ष समयावधि छुट्याइएको छ । त्यसपछिको थप २४ महिनासम्म मर्मतसम्भारको जिम्मा पनि निर्माण कम्पनीले लिनुपर्नेछ ।
यस सडक विस्तारमा पर्ने सम्पूर्ण जग्गा सरकारी नै भएकाले अधिग्रहण तथा मुआब्जा वितरणको झन्झट आयोजनाले व्यहोर्नुपर्ने छैन । ९६ किलोमिटर सडक निर्माणमा आवसीय संरचना ४४, आवसीय सह व्यावसाहिक संरचना १५१ वटा र बाँकी १५ वटा गाई गोठ, वाल लगायतका २९७ संरचना हट्ने आयोजनाले जनाएको छ । यि संरचना हटाउन ३ करोड रकम लाग्ने समेत आयोजनाले बताएको छ ।
यस्तो बन्नेछ, योजना
हाल ठेक्का आह्वान गरिएको यो सडक खण्ड झापाको काँकडभिट्टादेखि सुनसरीको कोशी गाउँपालिकाको लौकहीसम्म कुल लम्बाई ९६ किलोमिटर रहेको छ । यो सडक एसियन स्ट्यान्डर्ड मापदण्डको बन्नेछ ।
सडकको चौडाई २४ मिटरदेखि ५० मिटरसम्म हुनेछ । सडकको अधिकार क्षेत्र (राइट अफ वे) केन्द्र भागबाट २५–२५ मिटर हुने छ । लत्काल ६ ओटा ठुला पुल निर्माढा गर्न लागेपनि आबश्यकता परे विचमा अन्य साना पुल बन्नेछन् ।
यो सडक खण्ड आयोजना कोशी प्रदेशका मुख्य तराईका ठुला जिल्ला झापा, मोरङ र सुनसरी जिल्लामा पर्नेछ । यस आयोजनाबाट १२ वटा नगरपालिका, चारवटा गाउँपालिका र एउटा उपमहानगरपालिकाका ८२ वडा प्रभावित हुने जनाइएको छ ।
काँकडभिट्टा–लौकही राजमार्गले ७१ खोलाहरु पार गर्नुपर्नेछ । ती सबैमा पुलहरु निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ । जसमा ३९ आरसीसी टी–बीम पुल, २३ आरसीसी स्ल्याब पुल, दुईवटा बक्स पुल, सातवटा भेन्टेड पाइप ब्रिजहरु रहेका छन ्। सर्भिस रोड पनि दुवै साइटमा निर्माण गरिनेछ । शहरी क्षेत्रमा भने साइकल लेन, फुटपाथ तथा आकाशेपुल वा अन्डरपास पनि निर्माण हुनेछ।
जनावरहरुको आउजाउका लागि वन क्षेत्रमा वन्यजन्तुमैत्री क्रसिङ ब्रिज, ड्रेनेजहरु, स्लोप प्रोटेक्सन तथा अफ रोड सेफ्टीहरु निर्माण हुनेछन । सहरी क्षेत्रमा क्यारिज–वे चार लेनको दुवैपट्टी ७.५। ७.५ मिटरको हुनेछ भने फुटपाथ तथा साइकल लेन दुवैपट्टी ५.५०।५.५० मिटरको निर्माण गरिनेछ । यस्तै सर्भिस लेन सडकको दुवैतिर ६.५०।६.५० मिटरको रहेको छ। शहरी क्षेत्रमा सडक फुटपाथसहित ६ लेनमा विस्तार गरिनेछ ।
यस्तै, ६ वटा पुल भने ल्यान्डमार्क ब्रिजका रुपमा निर्माण हुने बताइएको छ । यी पुलको लम्बाई ३१८ मिटरदेखि ७०३ मिटरसम्म हुनेछ । जसमा निन्दा ब्रिज ३१८ मिटर, बिरिङ ब्रिज ३९८ मिटर, कन्काई ब्रिज, ७०३ मिटर, रतुवा ब्रिज ५८२ मिटर, बक्रा ब्रिज ३१८ र लोहेन्द्रा ब्रिज ३८४ मिटर लम्बाईको हुनेछन्।
यसैगरी, सडकखण्डमा आकाशेपुल १० र साना खालका अन्डरपास २० वटा निर्माण हुने जनाइएको छ ।
सडक विस्तार गर्न निर्माण कम्पनीले निर्माण सामग्रीहरु स्थानीय स्रोतबाट खरिद गर्नुपर्ने शर्त राखिएको छ । १२ वटा ठाउँमा आयोजनाका लागि क्याम्प निर्माण गरिनेछ । स्न २०२३ मा काम सुरु भएर २०२६ मा काम सम्पन्न हुनेछ । यस सडक परियोजनाबाट १२ लाखभन्दा बढी मानिसहरु लाभान्वित हुनेछन्।
सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडकको पहिलो चरणको काम काँकडभिट्टादेखि इटहरीसम्म सुरु हुनेछ । तीन सय मिटरभन्दा लामो पुल रहेको छ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन् । तीन प्रकारको डिजाइन गरिएको सडक ग्रामीण र जङ्गल भएको क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्र तथा मुख्यबजार क्षेत्रमा ५० मिटर चौडाइको हुनेछ । आयोजनाले काँकडभिट्टा, इट्टभट्टा, चारआली, बिर्तामोड, दमक, झुम्का, विराटचोक, इटहरीलगायतका नौ वटा घनाबस्ती भएको स्थानमा आकाशे पुल र अन्डर पास निर्माण गरिने जनाइएको छ ।
इटहरीलाई तनाब
आयोजना अन्तराष्ट्रिय मापदण्डमा बनेपनि इटहरीमा भने यसले प्रभाव पार्ने देखिएको छ । टेङ्ग्रा खोला देखि पश्चिम खेती खोला नजिक सम्म करिब पाँच सय मिटर लामो पुल जस्तै सडक बन्नेछ । तर ठ्याक्कै पुल भने हैन, अहिले चलिरहेको सडक पुरेर लल्लोछेउ र माथ्लो छेउमा अग्लो वाल बन्नेछ । अहिले भएको बाटो पुरिनेछ । यसरी सडक निर्माण भए माथ्लो साइड र तल्लो साइड आसपास आखाँले देखिने छैनन् । यसले गर्दा मुख्य व्यापारिक केन्द्रमा मानिसको आउजाउ समेत कम हुनेछ ।
तर सडकले आफ्नो क्षेत्र उकासेर लगेपनि मानिस आउजाउ गर्न मिल्ने तथा सवारी साधन आउ जाउ गर्न मिल्ने ठाउँठाउँमा खुल्ला ठाउँ छोड्ने छ । यो सडक यसरी निर्माण भए इटहरीलाई आर्थिक क्षेति हुने भन्दै इटहरी उपमहानगरले आयोजनालाई स्काइब्रीज बनाएर अहिले भएको सडक संरचना नहटाउन अनुरोध पत्र समेत पठाएको थियो । तर आयोजनाले यस अघि डिजाइन भईसकेकाले अहिले केही गर्न नसक्ने पत्र पठाएको छ ।
उपमहानगरका इन्जिनियर जीवन घिमिरेले आयोजनालाई पुनः सडकको डिजाइन गर्न पत्र पठाएको बताए । तर आयोजनाले त्यसरी आकाशेपुल बनाएर लगे धेरै लगानी लाग्ने भएकाले त्यो असम्भब रहेको पत्र पठाएको घिमिरेले बताए ।
प्रतिक्रिया