जुटको बोरामा बेरेर गाडिएको अवस्थामा १३ वर्षीया गुलशनाको शव

मंगलबार, १२ चैत्र २०८१
सिरहा : गत फागुन २९ गते हराएकी १३ वर्षीया गुलशना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा फेला परेको छ । गोलबजार नगरपालिका–९ गोविन्दपुर गाउँकी बालिका गुलशना गत २९ गते फागुन बिहान ९ बजे घर बाहिर निस्केकी थिइन् । त्यसपछि उनी फर्किनन् । मङ्गलवार बिहान गोठालाहरू झाडी बुट्यान छेउछाउबाट गन्ध चलेको चर्चा भएपछि स्थानीयले इलाका प्रहरी कार्यालय मिर्चैयालाई खबर गरेका थिए । गोलबजार ९ का पूर्व वडाध्यक्ष रामपुकार कामतीले भने,‘एकातिर गाउँमा बालिका हराइरहेको खबर डढेलो झैँ फैलिएको थियो । अर्कोतिर बनमारा झाडीभित्रबाट लास कुहिएको गन्ध आएपछि गाउँमा आशङ्का जाग्यो । दुर्भाग्यवश आशङ्का सत्यमा परिणत भयो । १३ वर्षीय गुलशना बोरामा बेरिएर खाडल भित्र मृत अवस्थामा फेला परिन् ।’ घटनास्थल पुगेका प्रहरीले घुर्मी खोला किनारमा तीन फिट खनेपछि जुटको बोरामा बेरिएको बालिकाको शव फेला परेको प्रहरी उपरीक्षक सन्त बहादुर बाखुले जानकारी दिएका छन् । उनले भने,‘लास पुरै कुहिएर चिन्न नसकिने अवस्थामा छ । कपडा र बाँकी रहेको शरीरको आकृतिबाट हराइरहेकी बालिका नै हुनुपर्छ भन्ने अनुमान लगाइएको छ । प्रहरीले बालिकाको शव पोस्टमार्टमका लागि सिरहा अस्पतालमा पठाउने तयारी गरेको छ । अपराधीले लास छिटो गलोस् भनेर खाडलमा नुन हालेर शव गाडेको फेला परेको छ ।’ फागुन २९ गते हराएकी गुलशनाको खोजी गरिदिन उनकी आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा गत चैत १ गते निवेदन दिएकी थिइन् । सात दिन बितिसक्दा पनि छोरीको अत्तोपत्तो नलागेपछि अत्तालिएकी जाहेदाले पत्रकार बोलाएर लेखिदिन आग्रह गरेकी थिइन् । छोरीको लास फेला परेको खबरले आमा जाहेदा खातुन र उनका परिवार स्तब्ध छन् । गोविन्दपुर गाउँ नै शोकाकुल भएको छ । गुलशना खातुन स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् । त्यस अघि उनी स्थानीय मदरसामा पढ्थिइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार