काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोडसेडिङ अन्त्य गर्ने श्रेय लिएर प्रस्तुत हुन खोज्नेहरूप्रति कटाक्ष गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लामो समयको तयारी, लगानी र योजनाबाट भएको उपलब्धिलाई चमत्कार वा जादुको रूपमा व्याख्या गर्न नहुने बताए ।
प्रधानमन्त्री ओलीले लोडसेडिङ हटाउन सरकारको दीर्घकालीन योजना र संरचनागत सुधारको मुख्य भूमिका रहेको भन्दै भने, “बिजुली बोकेर कोही व्यक्ति आएर अचानक लोडसेडिङ हटाएको हो त ?” उनले नेपालमा विद्युत् संकट अन्त्यका लागि सरकारको योजनाबद्ध प्रयास रहेको र कुनै एक व्यक्तिको काम मात्र नभएको स्पष्ट पारे ।
उनले भने, “उबेला पृथ्वीमा अन्धकार थियो, स्वर्ग उज्यालो थियो । देवताका भाइहरुमध्ये कान्छा प्रमिथसले आगो चोरेर पृथ्वीमा ल्याए । त्यसवापत उनलाई हजार वर्ष ढुंगाको चेपमा कैद गरियो । केही मानिसले त्यस्तै ढंगले लोडसेडिङ हटाएको दाबी गर्दैछन् ।” प्रधानमन्त्री ओलीको संकेत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पूर्वप्राधिकरण प्रमुख कुलमान घिसिङतर्फ थियो ।
उनले प्रचण्डलाई लक्षित गर्दै भने, “चार वर्षको कार्यकाल उहाँले यही काम गरेर बिताउनुभयो । त्यसबेला ल्याउनुभएको थियो कि ? उहाँले नियुक्ति गर्नेबित्तिकै आगो बोकेर, बिजुली बोकेर, चिम बोकेर आउनुभयो कि ?”
उनले लोडसेडिङ हटाउन सरकारले वर्षौंदेखि गरेको प्रयासलाई व्यक्तिगत उपलब्धिका रूपमा प्रचार गर्न खोज्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे ।
यस्तै, उनले बाहिरबाट नयाँ व्यक्ति खोजेर ल्याएको होइन, बरु त्यही क्षेत्रमा रहेर सेवा गरिरहेका व्यक्तिहरूलाई जिम्मेवारी दिइएको बताए । “कसैलाई निस्काशन गरेर वा सरुवा गरेर निकम्मा बनाउने अनि फेरि त्यहीँका अवकाशप्राप्त व्यक्तिलाई ल्याएर राखिदिने प्रवृत्ति सही होइन,” उनले थपे ।
प्रतिक्रिया