नागरिकमैत्री सेवा प्रवाह गर्न कोशीका डिआइजीको निर्देशन

विहीबार, १४ चैत्र २०८१
विराटनगर : कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय इलाम, पाँचथर र ताप्लेजुङको स्थलगत निरीक्षण गरेका छन् । उनले तीन वटै प्रहरी कार्यालयको भवन, मेस, सम्पूर्ण शाखाहरू तथा हिरासत कक्षको बिहीबार र बुधवार निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा अधिकारीले प्रहरी सेवालाई चुस्त दुरुस्त बनाउँदै नागरिकमैत्री सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए । उनले प्रहरीले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्ने र सेवा पनि त्यही हिसाबले प्रवाह गर्नुपर्नेमा जोड दिए । अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षालाई प्राथमिकतामा राखेर जनचेतनामूलक कार्यक्रम प्रभावकारी ढङ्गबाट अघि बढाउन पनि प्रहरीलाई डिआइजी अधिकारीले निर्देशन दिएका छन् । उनले प्रहरीले आफ्नो आचरण र व्यवहारमा सुधार ल्याएर आफ्नो जिम्मेवारी निर्वाह गर्दै सङ्गठनको हित र उद्देश्य पूरा गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । अधिकारीले आपसी भाइचारा तथा सहयोगी भावनाका साथ आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न प्रहरीलाई निर्देशन दिए । सङ्गठनको हित र उद्देश्यलाई सर्वोपरि ठानेर प्रहरीले नागरिकमैत्री सेवा प्रदान गर्नुपर्नेमा उनको जोड छ । समाजमा हुने विभिन्न अपराधलाई निरुत्साहित गर्न ‘दुर्जनको लागि डर र सज्जनको लागि भर’ भएर प्रहरीले काम गर्नुपर्छ,’ अधिकारीले भने । उनले उच्च मनोबलका साथ प्रहरीले सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताए । निरीक्षणका क्रममा डिआइजी अधिकारीले उत्कृष्ट कार्यसम्पादन गर्ने इलाम प्रहरी प्रमुख एसपी नारायण कोइरालासहित विभिन्न युनिटमा कार्यरत प्रहरी कर्मचारीलाई पुरस्कृत गरेका छन् । त्यस क्रममा एसपी कोइरालाले इलामको समग्र शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावी कार्य योजना र सुरक्षा चुनौतीका बारेमा जानकारी दिएका थिए । त्यस्तै, डिआइजी अधिकारीले उत्कृष्ट कार्यसम्पादन गर्ने पाँचथर प्रहरी प्रमुख डिएसपी कौशलकुमार बुढाथोकीसहित विभिन्न युनिटमा रहेर शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा महत्त्वपूर्ण भूमिका खेलेका प्रहरीलाई पुरस्कृत गरेका छन् । डिएसपी बुढाथोकीले पाँचथर जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, प्रहरीको भावी कार्य योजना तथा सुरक्षा चुनौतीका बारेमा डिआइजी अधिकारीलाई अवगत गराएका छन् । यसैबिच, निरीक्षण भ्रमणका क्रममा ताप्लेजुङ पुगेका डिआइजी अधिकारीले उत्कृष्ट कार्यसम्पादन गर्ने ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी रवि रावलसहित विभिन्न युनिटमा कार्यरत प्रहरीलाई पुरस्कृतसमेत गरेका छन् । डिएसपी रावलले समग्र जिल्लाको वस्तुस्थितिका बारेमा अधिकारीलाई जानकारी गराएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार