प्रदेश खबरकर्मी बुढाथोकीलाई १ लाख राशिको पुरस्कार

शुक्रबार, १५ चैत्र २०८१
विराटनगर : यस वर्षको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार प्रदेश खबरकर्मी विराटनगरका सक्रिय पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ । प्रदेश खबरका विराटनगरका प्रमुख बुढाथोकी मुलुकी खबर अनलाइनका सम्पादक एवं अन्नपूर्ण पोस्टका कोशी प्रदेश ब्युरो प्रमुखसमेत हुन् । नेपाल पत्रकार महासंघ मोरङ शाखाले प्रदान गर्दै आएको पुरस्कारको राशि १ लाख १ सय रूपैयाँ छ । महासंघ मोरङ अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा शुक्रवार बसेको महासंघको तेस्रो बैठकले उक्त पुरस्कार २ दशकदेखि पत्रकारितामा सक्रिय रहेका बुढाथोकीलाई प्रदान गर्ने निर्णय लिएको हो । यो पुरस्कार प्रत्येक वर्ष नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा वितरण गर्ने गरिन्छ । भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछा(साविकको तुङ्गेछा गाविस–१०) घर भएका बुढाथोकी विगत १३ वर्षदेखि सूचनाको हकको क्षेत्रमा क्रियाशील छन् । २ दशक अघिदेखि पत्रकारितामा आबद्ध उनले सङ्खुवासभाबाट पत्रकारिता सुरु गरेका थिए । बुढाथोकी २०६८ सालदेखि विराटनगरमा रहेर पत्रकारितामा सक्रिय छन् । नेपाल पत्रकार महासंघको ७० औँ स्थापना दिवसको अवसर पारेर शनिवार उक्त पुरस्कार वितरण गरिने नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले बताए । उनका अनुसार षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार सिफारिस समितिको सिफारिसका आधारमा पुरस्कार वितरणको निर्णय गरिएको हो । पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठकको संयोजकत्वमा रहेको ३ सदस्यीय सिफारिस समितिमा महासंघ मोरङका पूर्व अध्यक्ष एवं अग्रज पत्रकार यज्ञ शर्मा र दाता परिवारका तर्फबाट केदारबहादुर बस्नेत रहेका छन् । पत्रकार महासंघको ७० औँ स्थापना दिवसको अवसरमा शनिवार बिहान कोशी प्रदेशको राजधानी विराटनगरमा महासंघ मोरङले विशेष कार्यक्रमको आयोजना गरेको जानकारी सचिव अधिकारीले दिए । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की रहने छन् । षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार यसअघि नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरु तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा, अग्रज पत्रकार एवं सूचनाको हकका अभियन्ता गजेन्द्र बुढाथोकी, सूचनाको हकका अभियन्ताहरू काशीराज दाहाल र स्वः विनय कसजुलाई प्रदान गरिसकिएको अधिकारीले बताए । साथै, षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार झापाका पत्रकार एवं सूचनाको हकका अभियन्ता सुरेन्द्र भण्डारीलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि २५ हजार २५ रूपैयाँ रहेको छ । यसअघि उक्त पुरस्कार सूचनाको हकका अभियन्ता राजु श्रेष्ठ, पत्रकारहरू मोहन काजी न्यौपाने, गणेश लम्साल, देवनारायण साह र हरि अधिकारीलाई प्रदान गरिसकिएको छ । त्यस्तै, पत्रकार महासंघ मोरङको तेस्रो बैठकले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मे ३ का दिन ६० वर्ष उमेर पूरा भएका महासंघ मोरङ शाखाका सदस्यहरूलाई सम्मान गर्ने निर्णय गरेको छ । बैठकले महासंघ मोरङको वार्षिक क्यालेन्डर प्रकाशनका लागि ३ सदस्यीय समिति गठन गरेको छ । महासंघ मोरङका सहसचिव रेवतीरमण निरौलाको संयोजकत्वमा गठित समितिमा महासंघका सदस्यहरु बाबुराम निरौला र मुकेश यादव रहेका छन् । बैठकले नेपाल पत्रकार महासंघ मोरङ पूर्वउपाध्यक्ष शरदराज सुवेदीकी आमा मीना सुवेदी र महासंघको कार्यसमितिका पूर्वसदस्य विजय खतिवडाकी आमा देवधरा खतिवडाको निधनप्रति समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार