काठमाडौंः नेकपा(एमाले)ले सबै राजनीतिक दल पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरेको छ । एमालेका महासचिव शङ्कर पोखरेलले शुक्रवार विज्ञप्ति जारी गर्दै सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरेका छन् ।
एमालेले राजावादीहरूको समूहले काठमाडौँको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा देखाएको उडण्डता, अराजकता र हिंसाको घोर भर्त्सना गरेको छ । एमाले महासचिव पोखरेलले आजका आपराधिक क्रियाकलापमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गर्नुभएको छ ।
“शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवन माथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी–जानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन् ।” महासचिव पोखरेलले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया