सुनसरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

सोमबार, १८ चैत्र २०८१
इटहरी । सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिवार राति सुनसरीको देवानगंज गाउँपालिका ५ लवटोलिया भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना भएको छ । रासिबाट साहेवगंज तर्फ जाँदै गरेको प्र १-०२-०५५प ५९४६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा चालक, ३५ वर्षीय विरेन मलाहको मृत्यु भएको हो। स्थानीयले बिहान ५ः५० बजे घटनाबारे जानकारी गराएपछि इलाका प्रहरी कार्यालय साहेवगंजबाट प्रहरी निरीक्षक उत्तम कार्कीको कमाण्डमा टोली परिचालन भएको थियो। कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि मृतकको शव विराटनगरस्थित कोशी अस्पताल पठाइएको थियो। पोस्टमार्टम पश्चात् मृतकका मामा अशोक कुमार बहरदारले शव बुझेर लगेका छन्। यस्तै आइतबार बिहान ११ बजे हरि नगरा गाउँपालिका ३ गौतमपुर भित्री सडक खण्डमा हात्तिमुडा बाट भुटाहा तर्फ जाँदै गरेको प्र।१०-०२-००३ त ५०९ नम्बरको इट्टा बोकेको ट्याक्टरबाट खसेर जुलेशा खातुनको मृत्यु भएको छ। २० वर्षीया खातुन ट्याक्टरबाट अचानक खसेपछि घटनास्थलमै ज्यान गएको थियो। खबर प्राप्त हुनासाथ प्रहरी चौकी गौतमपुर, इप्रका हरि नगरा, इप्रका देवानगंज, जिल्ला प्रहरी कार्यालय सुनसरीका गरी ५५ जनाको टोली घटनास्थलमा परिचालित भएको थियो। दुर्घटनामा संलग्न ट्याक्टर चालक २३ वर्षीय मोजमिल अन्सारीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याइएको छ भने ट्याक्टरलाई प्रहरी चौकी गौतमपुरमा राखिएको प्रहरीले जनाएको छ । कानुनी प्रक्रिया पूरा गरी जुलेशा खातुनको शव पोष्टमार्टमका लागि कोशी अस्पताल पठाइएको थियो। पोस्टमार्टमपछि मृतकका मामा अन्दारुल अन्सारीले शव बुझेर लगेका छन्। दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार