स्वास्थ्य इकाईको स्थापनापछि सेवा लिन घण्टौँ पैदल यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य

सोमबार, २५ चैत्र २०८१
भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५, मझौलेका स्थानीयको सामान्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको हो । नागरिकलाई सहज सेवा प्रदान गर्न तत्कालीन साबिक खावा गाउँ विकास समितिका– ९, ८ र ७ का स्थानीयलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवामार्फत सेवा प्रवाह भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । नागरिकले पाएको सास्तीलाई समाधान गर्न आफूले जनप्रतिनिधि बन्दै गर्दा गरेको वाचा अनुसार नै स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह गरेको उनले बताए । “यहाँका नागरिक स्वास्थ्य सेवा लिन निकै समस्या थियो”उपाध्यक्ष राईले भनिन्,“सामान्य स्वास्थ्य सेवा लिन पनि तीनदेखि चार घण्टा हिँड्नुपर्ने अवस्था थियो । जनप्रतिनिधि बन्दै गर्दा गरेको वाचा अनुसार यहीबाट सेवा प्रवाह गर्न सफल भएका छौँ ।” नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा पु¥याउनलाई आफ्नो तहबाट भूमिका खेलिरहेको उपाध्यक्ष राईको भनाई छ । भौगोलिक रुपमा विकट रहेका अन्य स्थानमासमेत आधारभूत सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह भइरहेको उनले बताइन् । सामान्य रुघाखोकी तथा जीवनजल लिनको लागि घण्टौँ पैदल यात्रा पार गर्नुपर्ने अवस्थामा गाउँबाट नै स्वास्थ्य सेवा लिन पाउँदा खुसी लागेको टेम्केमैयुङ– ५ का रमेश विष्टले बताए । “सामान्य स्वास्थ्य सेवा लिन नै समस्या थियो”उनले भने,“अहिले गाउँबाट नै सेवा लिन पाएका छौँ । अहिले हाम्रो वषौँदेखीको समस्या हटेको छ ।” “पुस्तौँबाट हामीले सामान्य स्वास्थ्य सेवा लिन समस्या झेल्दै आएका थियौँ” उनले भने,“अहिले गाउँमा नै स्वास्थ्य केन्द्र स्थापना भएपछि सहज भएको छ । स्वास्थ्य केन्द्र नहुँदा हामीलाई धेरै दुःख थियो । अहिले आफ्नै ठाउँमा नियमित स्वास्थ्य जाँच गराउन पाएका छौँ ।”

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

सम्बन्धित समाचार