विराटनगर । विराटनगरका २ वटा घरमा प्रहरीले लागुऔषध गाँजा भेटेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार विराटनगर महानगरपालिका–१४ जतुवाका अलगअलग घरबाट ४५ किलोग्राम गाँजा बरामद भएको हो ।
विराटनगर–१४ जतुवाका १९ वर्षीय भूपेन यादव र ६० वर्षीय छटु यादवको घरबाट सोमबार बिहानका राति गाँजा फेला पारिएको जोशीले बताए । भूपेनको घरमा ३० र छटुको घरमा १५ किलोग्राम गाँजा भेटिएको उनको भनाइ छ ।
व्यक्तिको घरमा लागुऔषध गाँजा लुकाइछिपाइ राखिएको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले मध्यरातमा छापा हानेको थियो । डीएसपी जोशीका अनुसार रीतपूर्वक घर खानतलासी गर्दा सेतो प्लाष्टिकमा ‘प्याक’ गरेर झोलामा राखिएको अवस्थामा गाँजा फेला परेको हो ।
घरमा गाँजा भेटिएसँगै प्रहरीले भूपेन र छटुलाई पनि पक्राउ गरेको छ । बरामद भएको गाँजासहित पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । यस विषयमा रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेकाहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । भूपेन र छटुले गाँजा कहाँबाट ल्याएर घरमा भण्डारण गरेका हुन् भन्ने यकिन भइनसकेको जानकारी डीएसपी जोशीले दिए ।
प्रतिक्रिया