विराटनगर । विराटनगरबाट स्रोत नखुलेको नेपाली ७ लाख १५ हजार रूपैयाँसहित एक जना युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले विराटनगर महानगरपालिका– १५ महेन्द्र चोकका २४ वर्षीय रोहितकुमार साहलाई दिउँसो २ः३० बजेतिर पक्राउ गरिएको बताए । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा साहको शरीरबाट नेपाली रूपैयाँ बरामद भएको थियो ।
शरीरबाट बरामद भएको नेपाली रूपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जोशीले बताए । साहलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीको तयारी छ ।
प्रहरीले बरामद गरेको रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको अनुमान छ । राजस्वले थप अनुसन्धान गरिसकेपछि यो विषयमा प्रष्ट हुने जोशीले बताए ।
प्रतिक्रिया