एमाले विराटनगरको अधिवेशन : प्रतिनिधि छनोट सकियो

शनिबार, ३० चैत्र २०८१
विराटनगर : नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनका लागि प्रतिनिधि छनोट गरिएको छ । मनोनीत गर्नुपर्ने १५ जनाबाहेक भूगोल र जनसंगठनबाट आउने प्रतिनिधि छनोट सकिएको हो । अधिवेशन यही वैशाख २ र ३ गते हुने छ । अधिवेशनका लागि वडा तथा जनसंगठनबाट आउने प्रतिनिधि छनोट सम्पन्न भइसकेको र मनोनीत हुने प्रतिनिधि छनोट गर्न चैं बाँकी रहेको जनाइएको छ । चैत २१ गते बसेको महानगर कमिटीको दोस्रो सचिवालय बैठकको निर्णय अनुसार महानगरको १९ वटै वडाबाट र जनसंगठनबाट आउने प्रतिनिधिको छनोट सम्पन्न भएको हो । पार्टीको महानगर कमिटीका प्रवक्ता एवं प्रचार उपसमिति संयोजक राम पोखरेलले महानगर अधिवेशनका लागि महानगर १९ वटा वडाबाट २ सय २० जना प्रतिनिधि छनोट गरिएको जानकारी दिए । भूगोलबाट छनोट भएका २ सय २० मध्ये खुला क्षेत्रबाट १ सय १५, महिलाबाट ६८ र युवाबाट ३७ जना रहेको पोखरेलले बताए । उनका अनुसार महानगरमा क्रियाशील १६ जनसंगठनबाट ७९ जना प्रतिनिधि छनोट भएका छन् । एमाले विराटनगर महानगर कमिटी अध्यक्ष रोहित कोइरालाले भूगोलबाट २ सय २० जना, जनसंगठनबाट ७९ र मनोनीत १५ जना गरेर अधिवेशनमा ३ सय १४ जना प्रतिनिधि सहभागिता हुने जानकारी दिए । कोइरालाले १५ जना प्रतिनिधि भने मनोनीत गर्न बाँकी रहेको बताए । मनोनीत गर्दा प्रतिनिधित्व गर्न छुटेको क्षेत्र तथा समुदायलाई प्राथमिकतामा राखिने उनको भनाइ छ । एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य तथा विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले अधिवेशनको उद्घाटन पार्टीका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले गर्ने जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार