विराटनगर : ट्याक्टर दुर्घटना हुँदा भोजपुरमा वडा सदस्यसहित २ जनाको मृत्यु भएको छ । भोजपुरमा शनिवार राति भएको दुर्घटनामा परेर २ जना सामान्य घाइते भएका छन् ।
भोजपुर प्रहरी प्रमुख डीएसपी युवराज तिमिल्सिनाका अनुसार मध्य पहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका–३ सेती बगरमा राति १०ः३० बजेतिर दुर्घटना भएको हो ।
गोबर मल लोड गरेर बोखिमबाट छिनामखुतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्याक्टर घुमाउरो बाटोमा आफैँ अनियन्त्रित भएर दुर्घटनामा पर्दा जनप्रतिनिधिसहितले ज्यान गुमाएका छन् ।
ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा भोजपुर नगरपालिका–५ का वडा सदस्य अन्दाजी ५२ वर्षीय नीरप्रसाद फुयाँल र भोजपुर–५ कै अन्दाजी ५५ वर्षीय भक्तबहादुर थापाको घटनास्थलमै मृत्यु भएको जानकारी डीएसपी तिमिल्सिनाले दिए । दुर्घटना भएका समयमा दुवै ट्याक्टरमा सवार थिए ।
घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरेर उठाइएको दुवै शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको छ ।
दुर्घटनामा परेर ट्याक्टरका चालक सुनसरीको धरान उपमहानगरपालिका–५ का ३२ वर्षीय विशाल बोहोरा र सहचालक सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ का अन्दाजी ४० वर्षीय दिलबहादुर श्रेष्ठ घाइते भएका छन् । सामान्य घाइते अवस्थाका दुवै जनाको भोजपुर अस्पतालमै उपचार भइरहेको तिमिल्सिनाले बताए ।
ट्याक्टर हालसम्म घटनास्थलमै छ । घटनास्थल जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरबाट करिब ३० किलोमिटर पश्चिममा पर्छ ।
घुमाउरो बाटोमा ‘ब्रेक फेल’ भएर ट्याक्टर दुर्घटना भएको हुनसक्ने बताउँदै डीएसपी तिमिल्सिनाले घटनाको थप अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
प्रतिक्रिया