विराटनगर । नेकपा (एमाले) विराटनगर महानगरको दोस्रो अधिवेशन आज (मंगलबार) सुरु हुँदैछ । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं एमालेका प्रदेश इन्चार्ज शेरधन राईले उद्घाटन गर्ने अधिवेशन बुधबारसम्म चल्ने छ ।
अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने नेताहरुले बताएका छन् । नेताहरुका अनुसार नेतृत्व चयनमा सर्वसम्मतको प्रयास हुने र सम्भव नभए निर्वाचन गरिने छ । सर्वसम्मत नभए संस्थापन र इतर पक्षबीचको प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिने छ ।
अधिवेशनमा अध्यक्षका लागि संस्थापन अर्थात पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट वर्तमान अध्यक्ष रोहित कोइराला र इतर पक्षबाट एमाले महानगर सचिव बलराम गिरी (नवीन)बीच प्रतिस्पर्धा हुने बताइएको छ । नेतृत्व चयन सर्वसम्मत नभए मात्रै चुनाव हुने छ । यद्यपि, सर्वसम्मतको सम्भावना कम रहेको नेताहरुले बताएका छन् ।
कोइरालालाई पार्टीका प्रदेश इन्चार्ज शेरधन राई, अध्यक्ष घनश्याम खतिवडा, मोरङ इन्चार्ज जीवन घिमिरे, महानगर इञ्चार्ज पर्शुराम बस्नेत, संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललगायतका नेताहरुको समर्थन रहेको छ। गिरीलाई इतर पक्षका नेता भनेर चिनिने विनोद ढकाल, पार्टीका मोरङ अध्यक्ष अजम्बर राईसहितको समर्थन छ ।
एमाले मोरङको जिल्ला अधिवेशनबाट ढकालले समर्थन गरेका नेताहरु पदाधिकारीमा निर्वाचित भएका थिए । स्रोतका अनुसार अधिकांश नेताहरुको समर्थन रहेकाले अधिवेशनमा कोइरालाको पल्ला भारी हुने देखिएको छ । गिरीलाई समर्थन गर्नेको झुन्ड सानो छ ।
यसअघि पनि महानगरको अध्यक्ष भइसकेकाले कोइरालाले नेतृत्वको दाबी गर्नु स्वभाविक र न्योचित रहेको नेताहरुले बताएका छन् ।
कोइरालाले आइतबार विराटनगरमा आफू अध्यक्षको उम्मेदवार रहेको घोषणा गरेका थिए ।
उनको समूहबाट उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले, उपसचिवमा चन्द्रशखेर विश्वास, उपसचिव (महिला)मा कला डाँगी उम्मेदवार बन्ने नेताहरुले बताए । ढकाल समूहबाट भने मीनकुमार आचार्यलाई अध्यक्षको उम्मेदवार बनाउने तय भएको थियो । तर, आचार्यका नाममा ढकाल पक्षका अधिकांशले असन्तुष्टि जनाए । त्यसपछि गिरीको नाम अघि सारिएको १ नेताले बताए ।
गिरीको समूहबाट उपाध्यक्षमा सुरज न्यौपाने, सचिवमा विज्ञान शर्मा चपागाईं, उपसचिवमा हमित हाजाज र उपसचिव (महिला)मा हिमा मैनाली उम्मेदवार बन्ने सम्भावना छ । निर्वाचनको मैदानमा होमिन लागेका दुवै पक्षले जित आफ्नो हुने दाबी गर्दै आएका छन् ।
जिल्लाको परिणाम ढकाल समूहको पक्षमा परेको थियो । त्यही भएकाले ढकालको समर्थन पाएका गिरीले चुनाव जित्ने दाबी गर्दै आएका छन् । महानगर पार्टीको कामलाई अझै गतिशील बनाउन आफूले उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।
कोइरालाले भने सर्वसम्मत गरेर एकताको सन्देश दिनुपर्ने बताउँदै आएका छन् । अर्को पक्षले जबरजस्ती प्यानल खडा गरेको उनको भनाइ छ । तर, पूर्ण कार्यकाल काम गर्ने गरी आफू अध्यक्ष हुन खोजेकाले कार्यकर्ताले समर्थन गर्ने कोइरालाको भनाइ छ ।
एमाले विराटनगर महानगरको अध्यक्षमा सागर थापा हुँदा कोइराला सचिव थिए । मानगढ खानेपानीको विषयलाई लिएर एमालेले थापालाई कारबाही गरेर कोइरालालाई संगठन कमिटीको अध्यक्ष बनाएको थियो । थापा अहिले एमाले मोरङको जिल्ला उपाध्यक्षमा निर्वाचित भइसकेका छन् ।
एमाले विराटनगर महानगर कमिटीको अधिवेशनमा ३ सय १४ जना प्रतिनिधि सहभागी हुने छन् । जसमध्ये भूगोलबाट २ सय २०, जनसंगठनबाट ७९ र मनोनीत १५ जना छन् । अधिवेशनको उद्घाटन पार्टी कार्यालय पाञ्चालीमा हुने बताइएको छ ।
प्रतिक्रिया