इटहरीमा इँटा भट्टा बाहिर खेलिरहेका नाबालकलाई ट्याक्टरले किच्यो, अस्पताल पुर्‍याउँदा मृत्यु

बुधबार, ०३ बैशाख २०८२
इटहरी : सुनसरीको इटहरीमा इँटा भट्टा बाहिर खेलिरहेका नाबालकलाई ट्याक्टरले किचेको छ । इटहरी उपमहानगरपालिका–१५ स्थित पूजा इँटा भट्टा बाहिर ट्याक्टरले किचेर नाबालकको मृत्यु भएको छ । प्रहरीका अनुसार प्र १–०२–००३ त ७०२ नम्बरको ट्याक्टरले किचेर भारतको वेस्ट बङ्गाल घर भई इटहरी–१५ स्थित उक्त इँटा भट्टामा काम गर्दै आएका ऐनुल मियाँका ३ वर्षीय छोरा माहिर मियाँको मृत्यु भएको हो । भट्टा बाहिर खेलिरहेका नाबालकलाई इँटा लोड गरेर निस्किँदै गरेको ट्याक्टरको पछाडिको चक्काले मङ्गलवार अपराह्न १२ बजेतिर किचेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका नाबालकलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइयो । अस्पताल पुर्‍याउँदा उनको मृत्यु भयो । अस्पताल पुर्‍याएर चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । दुर्घटना लगत्तै प्रहरीले ट्याक्टर र चालक सुनसरीको इनरुवा नगरपालिका–६ का ४३ वर्षीय पुनबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार