विराटनगरमा विद्यार्थी बोक्ने गाडी काठमाडौंको शिक्षक आन्दोलनमा !

बुधबार, ०३ बैशाख २०८२
विराटनगर : विराटनगरमा विद्यार्थी बोक्न प्रयोग गरिने गाडी शिक्षकले आन्दोलनमा लिएर गएका छन् । विराटनगर महानगरपालिका–३ मा रहेको पोखरिया माध्यमिक विद्यालयको गाडी शिक्षकको आन्दोलनमा लगेर दुरुपयोग गरिएको हो । पोखरिया माविको प्र १–०२–००१ ग ०२४८ नम्बरको गाडी लिएर आन्दोलनका लागि शिक्षकहरू बुधवार काठमाडौंतिर लागेका छन् । प्रधानाध्यापक खेमराज भट्टराईले आफूसहित ४२ जना शिक्षक आन्दोलनका लागि काठमाडौं हिँडेको जानकारी गराए । आन्दोलनमा गाडी लिएर गएको विषय विद्यालयकी शिक्षिका रीता दाहाल पाठकले आफैँ फेसबुकमा फोटोसहित पोस्ट गरेकी छन् । ‘४५ जना शिक्षक साथीहरु सहित श्री पोखरिया मावि विराटनगर–३ मोरङको आफ्नै बसबाट नेपाल शिक्षक महासंघद्वारा आह्वान गरिएको बृहत शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौं आउनु हुँदै । शिक्षक, विद्यालय कर्मचारी एकता जिन्दावाद !! हाम्रो आन्दोलन, हाम्रो सहभागिता !!,’ उनले लेखेकी छन् । विद्यार्थी ओसारपसारमा प्रयोग गर्नुपर्ने गाडी आन्दोलनमा लगिएपछि चौतर्फी आलोचना भइरहेको छ । अभिभावक संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थी विद्यालयको यातायातको साधन कर्मचारी र विद्यार्थीले प्रयोग गर्न पाउने बताउँछन् । भनेका बेला विद्यार्थीलाई लिन नपुग्ने गाडी शिक्षकले आन्दोलनका नाममा मनपरी हिसाबले प्रयोग गर्नु गलत भएको पन्थीले बताए । ‘विद्यालयको गाडी भनेको कर्मचारी र विद्यार्थी ओसारपसारका लागि प्रयोग गर्नुपर्छ । आन्दोलन र नारा जुलुस तथा व्यक्तिगत स्वार्थ पूर्तिका लागि दुरुपयोग गर्न मिल्दैन,’ उनले भने, ‘यदि कसैले प्रयोग गरेको भए त्यो कानुन विपरीत हो । ट्राफिक प्रहरीले रोकेर कारबाही गर्न सक्छ ।’ उनका अनुसार विद्यार्थी ओसारपसार गर्ने बस विद्यालयभन्दा १२ किलोमिटर टाढा जान मिल्दैन । ‘सहरी क्षेत्रमा १२ र पहाडी क्षेत्रमा १५ किलोमिटर भन्दा टाढा लैजान पाइँदैन,’ उनले भने । अर्कोतर्फ घर र विद्यालय आउजाउ गर्दा सवारीसाधन प्रयोग गरेबापत विद्यार्थी एवं अभिभावकसँग शुल्क असुल्ने गरिन्छ । अभिभावकले आफ्ना सन्तानका लागि यातायात शुल्क तिरेर गाडीको व्यवस्था गरिदिएका हुन्छन् । विद्यार्थीबाट यातायात शुल्क उठाएर चलाइएको गाडी आन्दोलनका लागि शिक्षकहरूले काठमाडौं लिएर गएका हुन् । ‘गाडीमा हुने सबै खर्च विद्यार्थीसँग असुलिन्छ । त्यो रकम अभिभावकले तिरेको हुन्छ । अभिभावकसँग शुल्क उठाएका कारण विद्यार्थीका लागि मात्रै प्रयोग गर्नुपर्ने गाडी शिक्षकले आन्दोलनमा लैजान पाउँदैनन् । यो सरासर गलत एवं कानुन विपरीत हो,’ अध्यक्ष पन्थीले भने । शिक्षकले पेसागत हकहितका लागि आन्दोलन गर्न मिल्ने भए पनि विद्यार्थीको सुविधाका लागि राखिएको गाडी दुरुपयोग भने गर्न नमिल्ने उनले बताए । [caption id="attachment_98863" align="alignnone" width="1080"] काठमाडौँमा शिक्षकहरूको प्रदर्शन[/caption] प्रयोग नै गर्न नमिल्ने गाडी लिएर शिक्षकले हिँडे भने ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउन सक्ने उनको भनाइ छ । विद्यालय सञ्चालन निर्देशिका, २०७२ ले पनि विद्यालयको सवारीसाधन दुरुपयोगमा रोक लगाएको पन्थी बताउँछन् । पोखरिया माविका प्रधानाध्यापक भट्टराईले सरकारी स्कुलको गाडी आन्दोलनमा लैजान नपाउने विषय कतै पनि उल्लेख नभएको बताए । ‘टाढा–टाढा शैक्षिक भ्रमणमा लैजान सकिन्छ । हामीले पोखरा र बुटवलमा पनि लग्यौँ । विद्यार्थीलाई पठनपाठनमा असर नपर्ने गरी प्रयोग गरिएको हो । यसलाई अन्यथा मान्न हुँदैन,’ उनले भने । कसैले भन्यो भने सार्वजनिक बिदाका दिन पनि प्रयोग गर्न दिने गरिएको भट्टराईको भनाइ छ । ‘विद्यालयको गाडी सार्वजनिक काममा प्रयोग गर्न सकिन्छ । हामीसँगै भएको स्रोत साधन प्रयोग गरिएको हो । शिक्षकको आन्दोलनलाई ‘सपोर्ट’ होस् भनेर लिएर गएका हौँ,’ उनी भन्छन् । आफूहरूलाई काठमाडौं पुर्याएर गाडी फर्किने भट्टराईले बताए । भने, ‘विद्यालय लागेका बेला विद्यार्थी बोक्न छाडेर हिँडेको भए पो दुरुपयोग हुन्थ्यो ।’ यातायात शुल्कबापत १ जना विद्यार्थीसँग वार्षिक ७ देखि ९ हजार रुपैयाँसम्म लिन गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार