इटहरीको बैगुने मेला सम्पन्न, हजारौँ श्रद्धालु सहभागी

बुधबार, ०३ बैशाख २०८२
इटहरी : इटहरी उपमहानगरपालिका ४ स्थित कचनामा आयोजित परम्परागत बैगुने मेला (टेङ्ग्रा मेला) यस वर्ष पनि धार्मिक श्रद्धा र सांस्कृतिक उल्लासका साथ सम्पन्न भएको छ। वैशाख २ गते साँझदेखि सुरु भएको मेलामा हजारौँ श्रद्धालुहरूले सहभागिता जनाएका छन्। मेलाको सुरुवात मन्दिरको मुख्य द्वार साँझ ६:०० बजे खोलेसँगै भएको थियो। रातको मध्यरातदेखि नै श्रद्धालुहरू फूल, फलफूल, पान, सुपारी, धूप र विशेष रूपमा बैगुन लिएर देवीको दर्शन गर्न लाइनमा उभिएका देखिन्थे। बैगुन अर्पण गर्ने परम्पराका कारण मेलालाई बैगुने मेला भन्ने गरिन्छ। स्थानीय विश्वास अनुसार, यो मेला विशेष गरी छालासम्बन्धी रोग निवारण तथा मनोकामना पूरा होस् भन्ने कामना गर्दै मनाइन्छ। जहाँ श्रद्धालुहरूले हातले बनाइएका घोडा र धार्मिक सामग्रीसमेत अर्पण गरेका थिए। मेला विशेष गरी थारु समुदायको धार्मिक र सांस्कृतिक चाडको रूपमा चिनिन्छ, तर अन्य समुदायका भक्तजनहरूको समेत उल्लेख्य उपस्थिति देखिएको थियो। मन्दिर समितिका अध्यक्ष रोशन कुमार तामाङका अनुसार मन्दिरको व्यवस्थापन समितिले इटहरी ४ वडा कार्यालय, प्रहरी, खानेपानी कार्यालय र स्थानीय सङ्घ–संस्थासँग सहकार्य गर्दै मेलालाई व्यवस्थित रूपमा सम्पन्न गरेको हो। मेलामा सहभागिता जनाउन विभिन्न जिल्लाबाट आएका भक्तजनहरूले मन्दिर परिसरलाई धार्मिक र सांस्कृतिक मिलन स्थलको रूपमा अनुभव गरेका थिए। त्यसैगरी, मेलाले स्थानीय व्यवसायीहरूका लागि आम्दानीको अवसर पनि सिर्जना गरेको थियो। सडक छेउछाउमा राखिएका फास्टफूड, मिठाई, सौन्दर्य सामग्री, खेलौना तथा धार्मिक वस्तुहरूका स्टलहरूले मेलाको रौनक अझै बढाएको थियो। श्रद्धा, परम्परा, र सांस्कृतिक समर्पणको प्रतीक बनेको बैगुने मेला यसपालि पनि शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न भएको आयोजकहरूले जनाएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार