काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सह–महामन्त्री तथा सांसद सुमना श्रेष्ठले पदबाट राजीनामा दिएको विवरण सार्वजनिक भएको छ।
यही बिहीबार रास्वपाको केन्द्रीय समिति बैठक बस्ने तयारी भइरहँदा श्रेष्ठले सह–महामन्त्री पद त्याग गरेकी हुन्।
श्रेष्ठले भने अहिलेसम्म राजीनामाको विषयमा आधिकारिक रूपमा प्रतिक्रिया दिएकी छैनन्। तर, स्रोतहरूका अनुसार उनी केन्द्रीय समितिको बैठकमै राजीनामाको औपचारिक जानकारी गराउने तयारीमा छन्।
विश्वस्त स्रोतका अनुसार श्रेष्ठले सभापति रवि लामिछानेलाई नै राजीनामा बुझाएकी हुन्। लामिछाने सहकारी प्रकरणमा मुछिएर केही समय हिरासतमा रहेका कारण तत्कालीन समयमा राजीनामा दिन नसकेको र हाल आएर औपचारिक रूपमा बुझाइएको बताइएको छ।
श्रेष्ठको राजीनामाको पछाडि मुख्यतः पार्टीमा "एक व्यक्ति, एक पद" नीतिको कार्यान्वयन नहुनु कारण देखिएको छ। पार्टीभित्र उक्त नीति माथिदेखि तलसम्म लागू हुनुपर्ने उनको अडान रहेको बताइन्छ।
सांसदका रूपमा आफू संसद् कार्यमा पूर्ण रूपमा केन्द्रित हुनुपर्ने भन्दै उनले पार्टीको कार्यकारी जिम्मेवारी त्याग्ने निर्णय लिएको बुझिएको छ।
रवि लामिछाने सहकारी प्रकरणमा संलग्न देखिएपछि पार्टीभित्र विवाद चुलिँदै गएका बेला श्रेष्ठको राजीनामा पार्टीभित्रको आन्तरिक असन्तोषको संकेतका रूपमा हेरिएको छ।
प्रतिक्रिया