लिपुलेकबारे चीनसँग मैले राखेको धारणा रेकर्ड छः प्रधानमन्त्री ओली

शुक्रबार, २० भदौ २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकमा व्यापारी मार्ग बनाउने भारत र चीनको समझदारीबारे आफूले चीनसँग स्पष्ट कुरा राखेको बताएका छन् ।

आफूले चीनका राष्ट्रपति सी जीनपिङसँग औपचारिक भेटवार्तामा नेपाली भूमिलाई दुई ठुलो मुलुकमा व्यापारिक मार्ग बनाउने समझदारीप्रति असहमति जनाएको बताएका हुन् ।

शुक्रवार एमालेको विधान अधिवेशन उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा अडियो, भिडियोहरूमा रेकर्डेड रहेको र कूटनीतिक नोटहरूमा पनि समावेश गरिएको बताए । उनले राष्ट्रपति सीले सो विषयमा भारतसँग कूटनीतिक वार्ता गरेर समस्या समाधान गर्न सुझाव दिएको पनि बताए ।

नेपालको सार्वभौमसत्तामा तलमाथि पर्न नदिइने कुरा पनि राष्ट्रपति सीले आफूसँगको वार्तामा भनेको प्रधानमन्त्री ओलीको भनाई थियो । उनले सो विषयमा भारतीय पक्षसँग नै समाधानका लागि आफूले पहल गर्ने पनि बताए ।

प्रधानमन्त्री ओलीले भने ‘हरेक पटक मैले कुनै पनि विदेशको प्रोग्राममा जाँदा राष्ट्रको इज्जत, प्रतिष्ठा, राष्ट्रको हित । यी चिजहरूलाई तलमाथि पर्न नदिने, तिनको रक्षा गर्ने, तिनलाई अगाडि बढाउने काम गर्छु भनेर गएको हुन्छु । मैले पार्लियामेन्टमा त्यो उद्घोष गरेर गएको हुन्छु । र फर्किएर आएको मैले फेरि त्यसरी नै काम गरेर आएको छु । तर हाम्रा विरोधीहरूलाई भतभत पोल्छ । हामीले राष्ट्रको इज्जत बढायौ भनेपछि भतभत पोल्छ । र, एक अमखोरा चिसो पानी खान्छन् घटघट । छटपटी घट्दैन तिनको । अनि बरबराउन थाल्छन् ।

अहिले बैठक बसेर निर्णय गरेर मेरो स्पेनको यात्रा अत्यन्त्र सफल भयो । हाई हाई हुने भयो एमाले । अहिलेको सरकार हाई हाई हुने भयो । त्यसकारण यसलाई त्यो हाईहाईबाट समाप्त पार्न के गर्नुपर्छ भने भिजिट भिसामा त्यहाँ मान्छे गएको भनेर हल्ला फिँजाइन्छ । योजनाबद्ध ढंगले निर्णय गरेर त्यो हल्ला फिँजाउने काम गरे । उनीहरूको लागे, पुगेसम्म आफ्नो पार्टी मात्रै होइन, अरू पार्टीमा रहेका आफ्ना बुहारीहरूलाई पनि प्रयोग गरेर हाम्रा विरुद्ध कुप्रचार फैल्याएर ध्यान अन्त डाईभर्ट गरे । यस पल्ट फेरि सेक्युरिटी इनिसिएटिभ समर्थन गयो भनेर एउटा बखेडा निकाले । के हो त्यो बुझनु पनि छैन । हामीले के बोल्यौ, त्यो सुन्नु पनि छैन । हामीले बोलेका कुरा त सार्वजनिक छन् त । प्रकट छ । के लाई समर्थन गर्ने, केलाई नगर्ने रु के मा अहिले नबोल्ने, के को विरोध, के को समर्थन । यी कुराहरूप्रति हामी सजग छौँ । हाम्रो पार्टी सजग छ । हाम्रो आन्दोलन सजग छ । र, अहिलेको सरकार बिलकुल सजग छ । त्यसकारण कुनै प्रकारको त्रुटि कहीँ, समर्थन नगर्नुपर्ने, गर्नुपर्ने थाहा छ । तर यसलाई समर्थन गयो भनेर हल्ला चलाएका छन् ।

त्यस सम्बन्धमा हामीले बोलेका छैनौ । कहाँको समर्थन भयो ? यसमा हामीले केही बोलेको छैन । अनि बडा राष्ट्रवादी निस्किए । एक, एक राष्ट्रवादीहरूलाई दिने जवाफ हामीसँग छ । तर अहिले नदिऊ । कस्ता कस्ताले प्रश्न उठाएका छन् । तिनलाई जवाफ दिन्छौँ । यति भन्न चाहन्छु–सबैका अगाडि देशले सुन्ने गरी, विदेशले सुन्ने गरी मैले नेतृत्व गरेको प्रतिनिधिमण्डलले देशको हितको विरुद्ध, असंलग्न हाम्रो स्थापित परराष्ट्रनीति विरुद्ध, पञ्चशीलका स्थापित मान्यता र सिद्धान्तहरूका विरुद्ध, संयुक्त राष्ट्र संघका स्थापित नीति, मान्यता र बडापत्रका विरुद्ध, हाम्रो राष्ट्रिय हितका विरुद्ध, विश्व शान्ति, विश्व न्याय र मानवजातिको समग्र हितको विरुद्ध कुनैपनि प्रकारका क्रियाकलाप, बचन, बोली अथवा चिन्तन पनि राख्दैन ।

हाम्रो पार्टीले त्यो चिन्तन राख्दैन । र हामीले नेतृत्व गरेको त्यो सरकारले पनि त्यो चिन्तन राख्दैन भन्ने कुरा म स्पष्ट गर्न चाहन्छु । लिपुलेकको सम्बन्धमा हामीले जहाँ पुग्दा पनि जहिले पनि जुनसुकै ठाउँमा पनि आफ्नो राष्ट्रिय हितलाई कुनै कम्परमाईंज नगरी उठाउनुपर्ने ठाउँमा उठाउँछौँ । दृष्टिकोण राख्नुपर्ने ठाउँमा राख्छौँ । राष्ट्रिय हितको पक्षमा बोल्छौँ । त्यसै गरेर यस पटक म चीन जाँदा पनि चीनका राष्ट्रपति सी जिन पिङसँगको द्विपक्षीय औपचारिक वार्तामा मैले अरू कुराहरूसँगै लिपुलेक सम्बन्धमा भारत र चीनका बीचमा भएको सम्झौता हाम्रो भूमिमाथि, हाम्रो भूमिबाट व्यापार आदानप्रदान गर्ने भन्ने सम्झौता दुई वटा देशले गर्न मिल्दैन । त्यसकारण यसमा हाम्रो असहमति रहेको छ भन्ने कुरा मैले स्पष्ट ढंगले राखेको छु । यो कुरा रेकर्डेड छ । यो अडियोमा छ, यो भिडियोमा छ । यो नोटहरूमा छ । टिपोटहरूमा छ । र, चिनिया राष्ट्रपतिले त्यसको जवाफ दिँदा हामी नेपालको सार्वभौमसत्ताको पूरा सम्मान गर्दछौँ ।

यसबाट तपाईँहरूलाई जुन आशंका रहेको छ । यसमा हाम्रो ध्यान छ । कुनै तपाईँहरूको राष्ट्रको सार्वभौमसत्तामा तलमाथि पर्ने छैन । तलमाथि पर्न दिइनेछैन । त्यसमा हामी सम्पूर्ण रूपमा समर्थन गछौं । यो सिमानाको विषय नेपाल र भारतको विषय हो । तपाईँहरूले उद्धारकर्ता कूटनीतिक माध्यमबाट समाधान गर्नु हुन्छ भन्ने हामीले विश्वास गरेका छौँ । र, त्यसो गर्नुपर्छ भन्ने हाम्रो धारणा पनि हो । यस विषयमा तपाईँहरूको देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डप्रतिको हाम्रो विश्वास, समर्थन दृढ छ भनेर उहाँले स्पष्ट गर्नु भएको छ । यस सन्दर्भमा हामी भारतसँग पनि कुरा गर्नेछौ । हामीले यो समस्याको समाधान गर्नुपर्ने त भारतसँग नै हो ।’

त्यस अवसरमा प्रधानमन्त्री ओलीले आफूले राष्ट्रको इज्जत, प्रतिष्ठा र हितमा केन्द्रित भएर विदेश भ्रमण गर्ने गरेको पनि बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार