१७ दिनदेखि शिक्षक सडकमा आन्दोलन गरेर बस्दा,बिचल्लीमा १२ हजार मजदुर

शनिबार, ०६ बैशाख २०८२
काठमाडौँ : नेपाल शिक्षक महासंघले १७ दिनदेखि गरिरहेको माइतीघर–बबरमहल–नयाँ बानेश्वर क्षेत्र केन्द्रित आन्दोलनबाट त्यस क्षेत्र हुँदै ओहरोदोहारो गर्ने यात्रुहरूले ठुलो सास्ती मात्र भोगेका छैनन्, करिब १२ हजार यातायात मजदुरहरूको रोजीरोटी नै ठप्प भएको छ। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष भरत नेपालका अनुसार उक्त क्षेत्र ठप्प हुँदा उपत्यकाभरि नै यातायात प्रभावित मात्र भएको छैन, सोही क्षेत्रमा दैनिक चल्ने चार हजार सवारीसाधनलाई मार परेको छ । त्यसबाट १२ हजार यातायता मजदुहरूको रोजीरोटीसमेत ठप्प भएको उनको भनाइ छ। ‘गत १७ दिनदेखि नयाँ बानेश्वर माइतीघर क्षेत्रमा यातायत व्यवसायीहरू तथा यातायात मजदुरहरू प्रभावित भएका छन्, त्यस क्षेत्रमा चल्ने यातायात व्यावसाय नै ठप्प भएको छ,’ उनले भने। महासंघले जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा उक्त रुटमा अविलम्ब यातायात सञ्चालन गर्ने वातावरण बनाउन माग गरिएको छ। ज्ञापनपत्रमा शिक्षकहरूको आन्दोलनबाट माइतीघर–बबरमहल–बानेश्वर क्षेत्रमा निरन्तर सडक अवरोधबाट मजदुरलगायतलाई मर्का पर्नुका साथै व्यवसायीको बैंक किस्ता, कर, बिमा तिर्ने रकम गुम्दा आर्थिक हानिनोक्सानी भएको ज्ञापनपत्रमा उल्लेख छ। राजधानीका मुख्य सडक नै आन्दोलनको रणमैदान हुँदा त्यसको प्रत्यक्ष असर यातायात क्षेत्रमा परेको पनि बताइएको छ। देशको राजधानीको केन्द्रबिन्दुमा हुने यस्ता महिनौंका गतिविधिले राष्ट्रिय–अन्तर्राष्ट्रिय जगत्मा नकारात्मक सन्देश गएको भन्दै बाटो प्रयोगकर्ता आम नागरिक सर्वसाधरण र सिंगो यातायात तथा अन्य व्यवसायमा पर्न गएको असहज परिस्थिति सिर्जना भएको ज्ञापनपत्रमा उल्लेख छ। यातायात क्षेत्रका व्यवसायी, मजदुर, कर्मचारी तथा आम उपभोक्ताको आक्रोशलाई मध्यनजर गरी यातायात सञ्चालनमा सहजीकरण गर्न ज्ञापनपत्रमा गृहलाई आग्रह गरिएको छ। यता जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले शिक्षकहरूले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर नयाँ बानेश्वर, बबरमहल तथा माइतीघर क्षेत्र आन्दोलन गरेको जानकारी आफूलाई नभएको बताए। राजनीतिक दलहरूले भने जिल्ला प्रशासन कार्यालयबाट तोकिएको स्थानमा अनुमति लिएर आन्दोलन तथा प्रदर्शन गर्ने गरेका छन्। ‘हामीसँग कसैले प्रदर्शन गर्न अनुमति माग गरे समीक्षा गरेर उपयुक्त स्थानमा अनुमति दिने गरेका छौं,’ भण्डारीले भने, ‘तर शिक्षकहरूले भने अनुमति लिएर प्रदर्शन गरेको देखिएन।’ गत चैत २० गते नयाँ शिक्षा ऐनको माग राख्दै शिक्षकहरूले निरन्तर आन्दोलन गरिरहेका छन्। आन्दोलनमा ७७ वटै जिल्लाबाट शिक्षकहरू सहभागी भएका छन्। उनीहरूले नयाँ बानेश्वर, बबरमहल तथा माइतीघर क्षेत्रमा नाचगान गरेर समय बिताउने गरेका छन्। उता शिक्षकहरूको आन्दोलनबाट करिडोरलगायत वैकल्पिक सडकहरूमा समेत घण्टौंसम्म यातायता ठप्प हुने गरेको छ। यात्रुहरू लामो समयसम्म जाममा पर्ने हुँदा दैनिक जनजीवन नै कष्टकर बनेको छ। एक जना यात्रु भन्छन्, ‘शिक्षक आन्दोलनलाई सरकारले कम्तीमा नयाँ बानेश्वर, माइतीघर तथा बबरमहल क्षेत्रबाट बाहिर लगेर कुनै अर्को निश्चित ठाउँमा सार्नु आवश्यक छ।’ यता जतिसक्दो चाँडो आफूहरूको माग सम्बोधन गर्न सरकारसँग आन्दोलनकारी शिक्षकहरूको माग छ। आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार