विराटनगर : प्रहरीले मोरङको सुनवर्षीबाट सोमबार साँझ ठुलो परिमाणमा बेवारिसे अवस्थाको लागुऔषध बरामद गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार सुनवर्षी नगरपालिका–९ स्थित हरिशचन्द्रगढी खोलाको पूर्वतर्फको बाटोमा बेवारिसे अवस्थामा लागुऔषध फेला परेको हो । पहेँलो र रातो रङ्गको कपडाको झोलाभित्र राखिएको अवस्थामा लागुऔषध ट्रमा डोल साँझ ५ बजेतिर बरामद गरिएको जानकारी उनले दिए ।
प्रहरीका अनुसार लागुऔषध ट्रमा डोल ५ हजार क्याप्सुल ९५ सय पत्ता० फेला परेको छ । प्रत्येक पत्तामा १० वटा क्याप्सुल छन् । स्थानीयले बाटोमा बेवारिसे अवस्थामा लागुऔषध देखेर प्रहरी चौकी सिक्टीलाई खबर गरेका थिए । त्यस लगत्तै खटिएको प्रहरी टोलीले लागुऔषध बरामद गरेको हो ।
प्रहरीका अनुसार यति ठुलो परिमाणमा लागुऔषध कसले ल्याएर राखेको हो भन्ने यकिन छैन । प्रहरीले थप अनुसन्धान अघि बढाएर लागुऔषध राख्ने र कारोबार गर्ने व्यक्तिको खोजी तीव्र पारेको छ । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोष खड्का नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया