-जम्मू–कश्मीरको अनन्तनाग जिल्लास्थित पहलगामको बैसारन उपत्यकामा मंगलबार दिउँसो भएको आतंकी हमलामा परि २६ जनाको ज्यान गएको छ।
हमलामा परि एक नेपाली नागरिकको पनि ज्यान गएको भारतीय संचारमाध्यमले जनाएका छन्। मृत्य हुनेमा नेपालका सुदीप न्याैपाने रहेको बताइएको छ।
बाँकी मृतकहरू भारतका विभिन्न राज्यहरू उत्तर प्रदेश, महाराष्ट्र, कर्नाटक, गुजरात, तमिलनाडु, ओडिशा र युएईका रहेका छन्।
दुई जना स्थानीय बासिन्दाको पनि मृत्यु भएको छ। घटना दिउँसो करिब २:४५ बजेतिर भएको हो।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार आतंककारीहरूले उत्तर प्रदेशका शुभम द्विवेदीसँग पहिचान सोधेर टाउकोमा गोली हानेर हत्या गरेका थिए।
उनी दुई महिनाअघि मात्र विवाह गरेर हनिमून मनाउन पत्नीका साथ पहलगाम गएको बताइएको छ। त्यसपछि आतंककारीहरूले अन्य पर्यटकमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए। लश्कर–ए–तैयबाले हमलाको जिम्मेवारी लिएको छ।
सुरुवातमा प्रशासनले एक जनाको मृत्यु भएको पुष्टि गरे पनि केही घण्टापछि समाचार एजेन्सीहरूले २६ जनाको मृत्यु भएको जानकारी दिएका छन्।
घटनामा २० भन्दा बढी व्यक्ति घाइते छन्। घटनापछि सुरक्षाबलहरूले पहलगाम क्षेत्रलाई घेराबन्दी गरेका छन् र हेलिकप्टरमार्फत निगरानी पनि गरिएको छ।
घटनाको अनुसन्धान गर्न राष्ट्रिय अनुसन्धान एजेन्सीको टोली बुधबार पहलगाम पुग्नेछ। गृहमन्त्री अमित शाह श्रीनगर पुगेर सेना र प्रशासनका उच्च अधिकारीहरूसँग आपतकालीन बैठक गरिरहेका छन् भने रक्षामन्त्री राजनाथ सिंहले सेना प्रमुखसँग सम्पर्क गरेर घटनाबारे जानकारी लिएका छन्।
जम्मू चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले हमलाको विरोधमा बुधबार जम्मू बन्दको आह्वान गरेको छ। दिल्ली, मुम्बईसहितका प्रमुख सहरहरूमा सुरक्षालाई सुदृढ बनाइएको छ।
मृतकहरूको सूचीमा मनुज नाथ, शिवम मोगा, लेफ्टिनेन्ट विनजय नरवाल, हिमांशी नरवाल, शुभम द्विवेदी, दिलीप डेसले, अतुल मोहने, सैयद हुसैन शाह, सुदीप नेउपाने, बिटन अधिकारी उधवानी कुमार, संजय लेले, हिम्मत कलाथय, प्रशान्त कुमार, मनीष राजन, रामचन्द्रन र शलिन्दर कल्पिया रहेका छन्।
घाइतेहरूमा विनो भट्ट, एस. बालचन्द्रु, अभिजवन राव, संतरु, साहसी कुमारी, डा. परमेश्वर, माणिक पाटिल र रिनो पाण्डे छन्।
यो घटना २०१९ को पुलवामा हमलापछि जम्मू–कश्मीरमा भएको सबैभन्दा ठूलो आतंकी हमला मानिएको छ। यसले फेरि एकपटक कश्मीरको सुरक्षा स्थिति र पर्यटकहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
प्रतिक्रिया