एमालेको ‘युथ सेलिब्रेशन’ भोली : ४० वर्षमुनिका एक लाख युवाहरूलाई सडकमा ल्याउने

बुधबार, १० बैशाख २०८२

काठमाडौं : नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा वैशाख ११ गते काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको आयोजना गर्दै छ ।

बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रम गर्न लागेको एमाले निकट युवा संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिएका हुन् ।

यस्तै, उनले लोकतन्त्रलाई उत्सवको रूपमा मनाउन युवाहरू अघि बढ्नुपर्छ भन्ने धारणाले  एमालेभित्र रहेका ४० वर्षमुनिका एक लाख युवाहरूलाई सडकमा ल्याउने पनि बताए । 

उनले भने, ‘लोकतन्त्र प्राप्तिको, नेपाली जनताले विजयी गरेको दिनलाई ऐतिहासिक क्षणलाई नेपाली युवाहरूले सेलिब्रेशन गर्नुपर्छ । यो लोकतन्त्रको उत्सव र उत्सवहरूको पनि महा उत्सवको रूपमा युवाहरू अघि बढ्नुपर्छ र एमालेभित्र रहेका ४० वर्षमुनिका युवाहरू यो उत्सवमा सहभागी हुन आएका छौँ । तयारी अन्तिम चरणमा पुगिसकेको छ । भोलि एमालेका ४० वर्षमुनिका एक लाख युवाहरूलाई स्वागत गर्न, उत्सवमा सहभागी गराउन र लोकतन्त्र मनाउनको लागि तयारी पूरा भएको छ ।’ 

यो लोकतन्त्रको विकल्प केवल उन्नत लोकतन्त्र मात्र भएको भन्दै उन्नत लोकतन्त्र ल्याउने सङ्कल्पका साथ अगाडि बढ्न यो सेलिब्रेशन गर्न लागेको उनको भनाई छ । 

उनले भने, ‘अब यो देश निर्माण गर्ने हामी युवाको पालो हो र अब दशे बनाउँछौ भन्ने सङ्कल्पका साथ अगाडि बढ्ने घोषणाका साथ यो सेलिब्रेशन गर्दै छौ । हामी सबै युवाहरूको आवाज लोकतन्त्र जिन्दाबाद । यो लोकतन्त्रको विकल्प केवल उन्नत लोकतन्त्र मात्र छ ।’
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार