विराटनगर : नेकपा (माओवादी केन्द्र) विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनबाट पार्टी उपमहासचिव जनार्दन शर्मा 'प्रभाकर' समूहका दिनेशकुमार राजवंशी (देव) अध्यक्षमा निर्वाचित भएका छन्।
शनिबार सम्पन्न निर्वाचनमा राजवंशीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहकी उम्मेदवार नमिता न्यौपानेलाई ११ मतको अन्तरले पराजित गरे। राजवंशीले ४६ मत प्राप्त गर्दा न्यौपानेले ३५ मतमा सीमित भइन्।
यसअघि उपाध्यक्ष रहेका राजवंशीले अध्यक्षको पदमा जित हात पार्दा, पूर्वसचिव रहेकी न्यौपाने पराजित भइन्। अधिवेशनमा अन्य पदहरूमा पनि राजवंशीको नेतृत्वमा बनेको प्रभाकर समूहका उम्मेदवारहरू विजयी भएका छन्।
उपाध्यक्ष पदमा धर्मलाल राजवंशी (५८ मत), सनोजकुमार यादव (४४ मत) र चन्द्रबहादुर वन (३६ मत) विजयी भए। उनीहरूसँग प्रतिस्पर्धा गरेका केमुना ओडारी (३३), शिवराज थन्दार (३३) र सरस्वती ओझा (२१) मतमा रोकिए।
सचिवमा सोनु केवटले ४२ मतसहित जित हासिल गरे भने उनका प्रतिस्पर्धी मोहमद अजामले ३६ मत ल्याए। सहसचिवमा दिनेशकुमार कामत ३९ मत ल्याएर निर्वाचित भए, भने भरत गिरी (३२ मत) र चम्पा खत्री (७ मत) पछि परे।
कोषाध्यक्षमा मनिष सोनी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।
माओवादी केन्द्रको विधानअनुसार कार्यसमिति सदस्यहरूको मतदानबाट अध्यक्षसहित अन्य पदाधिकारीहरू चयन गरिन्छ। अधिवेशनमा सहभागी ३५६ प्रतिनिधिबाट ८१ सदस्यीय कार्यसमिति चयन गरिएको थियो, जसले शनिबार ६ पदाधिकारीहरू छान्न मतदान गरे।
महानगर कमिटीमा हाल ९९ सदस्यीय कार्यसमिति रहनेछ, जसमा बाँकी १८ सदस्य पछि मनोनयन गरिने पार्टी इन्चार्ज भोगेन्द्र यादवले जानकारी दिए।
महानगर अधिवेशनमा प्रचण्ड र प्रभाकर समूहबीच कडा प्रतिस्पर्धा भए पनि अन्ततः प्रभाकर समूहले विजय हासिल गरेको छ। दुवै समूहले अलग–अलग प्यानल बनाएर निर्वाचनमा भाग लिएका थिए।
गत आइतबार सुरु भएको अधिवेशन सोमबार सक्ने तयारी भए पनि नेतृत्वमा सर्वसम्मति जुट्न नसकेपछि एक हप्ता स्थगित गरिएको थियो। अन्ततः शनिबार भएको निर्वाचनमा प्रभाकर समूहले बाजी मारेको हो।
मोरङमा पार्टीका जिल्ला इन्चार्ज कुलप्रसाद साम्बा लिम्बू प्रचण्ड समूहतर्फ उभिँदा, पूर्वमन्त्री एवं केन्द्रीय सदस्य शिवकुमार मण्डल प्रभाकर समूहको नेतृत्व गर्दै आएका छन्। विराटनगर अधिवेशनको नतिजाले प्रभाकर समूहको प्रभाव बलियो बनेको स्पष्ट भएको छ।
प्रतिक्रिया