डिआइजी बढुवामा कडा प्रतिस्पर्धा

विहीबार, १८ बैशाख २०८२

काठमाडौँ : नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) का रिक्त १० पदका लागि दुई ब्याचका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बीच प्रतिस्पर्धा सुरु भएको छ। नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएका एसएसपीहरूबीच प्रतिस्पर्धा सुरु भएको हो।

राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएर एसएसपी भएकाहरू आफूलाई अन्याय भएको भन्दै डिआइजी बढुवा लविइङ गरिरहेका छन्। त्यसैगरी प्रहरी नियमावली पल्टाएर आफूहरू सिनियर भएको भन्दै नेपाल प्रहरीमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ११२ को भर्ना मिति २०५६ असार ३० टोलीले बढुवा दाबी गरिरहेको छ। अहिले डिआइजीमा बढुवा हुनेले करिब तीन वर्षपछि प्रहरीको नेतृत्व सम्हाल्ने भएकाले पनि तीव्र प्रतिस्पर्धा भएको हो।

डिआइजीका रिक्त पदमा बढुवाका निम्ति ११२ टोलीबीचमै प्रतिस्पर्धा हुने चर्चा चलिरहँदा २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभाग ९राअवि०को सेवामा प्रवेश गरी नेपाल प्रहरीमा आएको टोलीले पनि बढुवामा दाबी गरिरहेको छ। राअविबाट नेपाल प्रहरीमा आएकाहरू २०७९ असार २५ गते एसएसपी बढुवामा सिफारिस भएका हुन्।

नेपाल प्रहरीको ११२ टोलीका अधिकृतचाहिँ २०८० वैशाख २४ मा एसएसपीमा बढुवा भएका हुन्। ११२ टोलीबाट पहिलो समूहमा एसएसपीमा बढुवा भएका अधिकृत मात्रै डिआइजी बढुवामा पर्ने स्थिति छ।

११२ टोलीबाट २०८० वैशाख २४ गते एसएसपीमा बढुवा हुनेमा विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, भूपेन्द्रकुमार खत्री, सोमेन्द्रसिंह राठौर, शेखर खनाल, दीपशमशेर राणा, अभिनारायण काफ्ले, तारादेवी थापा, गंगा पन्तलगायत छन्। उनीहरू पछि ११२ टोलीबाटै २०८० कात्तिक २४ गते एसएसपीमा बढुवा भएका वसन्त रजौरे र रमेश बस्नेत पनि डिआइजी बढुवाको दौडमा छन्। राअविबाट नेपाल प्रहरीमा आएका श्यामकृष्ण अधिकारी, नेपाल प्रहरीकै भीमबहादुर दाहाल र नान्तीराज गुरुङ २०८१ जेठ १८ गते एसएसपीमा बढुवा सिफारिस भएका हुन्।

नेपाल प्रहरीमा राअविबाट समायोजित समूहमा ओमबहादुर राना, विनोद घिमिरे, दीपेन्द्र जिसी, माधव श्रेष्ठ, सुरेन्द्रबहादुर गुरुङ, दीलिपसिंह देउवा र जयराज सापकोटा छन्। जसमध्यको देउवाको कार्यसम्पादन पक्ष कमजोर भएकाले उनको बढुवा नहुने अवस्था छ। गुरुङ र सापकोटालाई पनि बढुवामा छुटाउने सम्भावना बढी नै रहेको स्रोतको दाबी छ।

अहिले डिआइजी बढुवामा दाबी गर्नेहरू प्रहरी निरीक्षक आधारभूत तालिम टोली नम्बर ११२ का अधिकृत हुन्। २०५६ असार ३ गते नियुक्ति पत्र बुझेको यो अधिकृत टोली डिएसपी बढुवादेखि दुई र तीन लटमा अगाडि आएको छ। एसएसपी बढुवामा तीन चरणमा बढुवा भएका अधिकृत छन्।

राअविको टोली डिआइजीबाट एआइजीमा पनि छुटेकाले उनीहरूलाई डिआइजीका रिक्त सबै पदमा बढुवा गर्ने सम्भावना कम रहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। नेपाल प्रहरीको ११२ टोली भने २०६७ पुस २३ गते इनस्पेक्टरबाट डिएसपीमा एक साथ बढुवा भएको थियो। तर २०७५ जेठ २९ गते यो टोलीका २६ जना एसपीमा बढुवा भए। यो टोलीका अन्य २०७५ फागुन ७ मा एसपी भएका थिए। त्यसमा रमेशकुमार बस्नेत, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङलगायत थिए। पहिलो लटमा एसपी भएका वसन्त रजौरे भने एसएसपी बढुवामा छुटेकाले दोस्रो लटको बढुवामा परे। तेस्रो लटमा रमेश बस्नेत २०८० माघ १७ गते बढुवा भए। चौथो लटमा श्यामकृष्ण अधिकारीलगायत एसएसपीमा बढुवा भएका हुन्।

अहिले बढुवामा वरीयता मिचिने सम्भावना कम रहेको प्रहरी प्रधान कार्यालय स्रोतको दाबी छ। डिआइजीको लाइनमा ११४ टोलीलाई ल्याउनुपर्ने र भावी नेतृत्वका रूपमा उनीहरूलाई अगाडि बढाउनुपर्ने माग पनि थपिएपछि वरीयता मिचिने सम्भावना निकै कमजोर भएको स्रोतले जनायो। सामान्यतयाः २०५३ सालमा राअविमा भर्ना भई नेपाल प्रहरीमा आएकाहरू प्रहरी नियमावलीअनुसार तालिम लिनुपर्ने हुँदा २०५८ साउन १८ गते प्रहरी निरीक्षक नियुक्त टोलीभन्दा पछि परेका कारण बढुवामा पनि पछि पर्दै आएका हुन्। उनीहरूलाई सर्वोच्चको फैसलाका कारण राज्यले विस्तारै क्रमशः बढुवा गर्दै आएको छ।

२०५८ मा प्रहरी निरीक्षकमा भर्ना टोलीमा रमेश थापा, अजय केसी, अनुपमशमशेर जबरा, वीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्ण कोइराला, होविन्द्र बोगटीसहित छन्। यो टोलीभन्दा अघि नै २०५३ सालमा राअविमा भर्ना भएको टोली एसएसपीमा बढुवा भएको थियो।

११२ को टोलीबाट हाल काठमाडौं परिसर प्रमुख रहेका विश्व अधिकारी, उपत्यका अपराध अनुसन्धान कार्यालय चलाइसकेका सानुराम भट्टराई, चितवन तालिम केन्द्रमा रहेका भूपेन्द्रकुमार खत्री, एयरपोर्टमा रहेका सोमेन्द्रसिंह राठौर, ललितपुर परिसर चलाएका शेखर खनाल, बुटवल तालिम केन्द्रमा रहेका दीपशमशेर राणा, विराटनगर तालिम केन्द्रमा रहेका अभिनारायण काफ्ले, प्रहरी प्रधान कार्यालयमा रहेका ओम अधिकारी र तारादेवी थापा, संयुक्त राष्ट्रसंघको मिसनमा रहेकी गंगा पन्तमध्ये डिआइजीमा बढुवा हुनेछन्। दुई महिलामध्ये एक डिआइजीमा बढुवा हुने सम्भावना छ।

एसपी हुँदा भक्तपुर जिल्लामा अब्बल काम गरेकी थापा र कोभिड महामारीमा पर्सामा अब्बल काम गरेकी पन्त दुवै विवादमा नआएका अधिकृत हुन्। डिआइजीमा बढुवाका अन्य दाबेदार पनि ठुलो विवादमा परेका छैनन्। केहीको कमान्ड कमजोर भएको बाहेक सबै अब्बल रहेकाले प्रहरी प्रधान कार्यालयलाई कार्यसम्पादन मूल्यांकन गर्न कठिन परिरहेको स्रोतको दाबी छ।

आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार