काठमाडौँ । बिहीबार एक सय ३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइयो । यत्तिका वर्षमा विभिन्न सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्थामा परिवर्तनसँग दिवस मनाउने शैली पनि परिवर्तन भएको छ । तर हरेक परिवर्तनका नायक अर्थात् श्रमिकहरूको अवस्थामा भने ज्यूँकात्यूँ रहेको पाइन्छ ।
अझै पनि श्रमिकहरूका समस्या, गुनासा उही पुरानै छन् । न्यूनतम पारिश्रमिक बढ्न नसक्नु ,श्रमको ग्यारेन्टी र श्रमिकको सुरक्षा नहुनु जस्ता समस्याले श्रमिकहरु ग्रस्त छन् । जुनै सरकार आए पनि श्रमिहरुको हक हितको लागि पर्याप्त काम नगरेको उनीहरूको गुनासो छ ।
विगत १५ वर्षदेखि रङ लगाउने काम गर्दै आएका जनकपुरका श्रमिक धर्मेन्द्र बैठा सरकारबाट अब आफूहरूले आशा मारेको सुनाउँछन् ।
नेपाल न्यूज बैङ्कसँगको कुराकानीमा उनले श्रमिकहरूको गुनासा सरकारले सुन्न नसकेको भन्दै अब नयाँ युवाहरू नेतृत्वमा आउनुपर्ने बताए । पुराना राजनीतिक दलहरूले सत्ता चलाउँदासम्म श्रमिकको अवस्थामा परिवर्तन नआउने उनको भनाई छ ।
उनले भने,‘रङको काम गर्न लागेको १५ वर्ष भयो । हामीलाई सरकारको केही आशा नै छैन । सरकारलाई भनेर पनि केही गर्ने होइन । आफ्ना कुरा जति सुनाए पनि सरकारले केही गर्दैन् । आफूखुसी गर्छ,’उनले अगाडि भने,‘एमसीसीकै कुरा गर्दा पूरै देशका नागरिकले विरोध गर्दा पास भयो । श्रमिकहरूको हक हितको लागि सरकारले केही काम गर्न सकेको छैन । हालका पाका नेताहरू नहटेसम्म केही हुँदैन । नयाँ युवाहरू जबसम्म आउँदैनन् तबसम्म देशको हालत यस्तै नै हुन्छ । पार्टीले देश बन्दैन, व्यक्तिले बनाउनुपर्यो । पार्टीले त हामीलाई उल्लु बनाउँछन् र पार्टी भित्रभित्रै एक भइहाल्छन् आखिर हामी जनता उल्लु हुने हो ।’
त्यस्तै धादिङकी श्रमिक सरिता राणा मगरको पनि गुनासो उस्तै छ । बिहानदेखि दिनभरि काम गर्दा आठ सय कमाई हुँदा सन्तुष्ट हुने अवस्था नरेको उनी बताउँछिन् । किनकि नियमित काम पाउन सकिँदैन । सरकारले न्यूनतम पारिश्रमिक नबढाएको कारण जति छ त्यसैमा चित्त बुझाउने अवस्था रहेको उनले दुखेसो पोखिन् ।
‘घरमा काम गर्न थालेको चार पाँच वर्ष भयो । बिहानदेखि बेलुकीसम्म घोटिदा आठ सय रुपैयाँ दिन्छ । कोही पुरुषहरूको मेरो भन्दा धेरै नै छ । पारिश्रमिक बढाउनुपर्ने हो बढेको छैन । यसैमा चित्त बुझाउनु परेको छ । यस्तै काम सधैँ पनि हुँदैन । सधैँ काम भएन भने त परिवार पाल्न पनि पुग्दैन ।’
त्यस्तै भक्तपुरका श्रमिक जगदीश श्रेष्ठले श्रमिकहरूको सुरक्षाको विषयलाई उठाएका छन् । दुर्घटनामा पर्दा व्यहोर्ने कुनै पनि सम्बन्धित जिम्मेवार निकाय नहुँदा आफूहरू मारमा परेको उनले सुनाए ।
उनले पनि नयाँ युवाहरू नेतृत्वमा आए मात्रै श्रमिकहरूको जीवनमा परिवर्तनको आशाको दियो बाल्न सक्ने धारणा राखे ।
उनले भने,‘अहिले श्रमिकहरूको समस्या नै समस्या रहेको छन् । एक त काम पाउन नै कठिन छ । नियमित काम गर्छु भन्दा पनि पाउने अवस्था छैन । न्यूनतम पारिश्रमिक १७ हजारले त केही हुँदैन । बालबच्चा पढाउनै पर्यो, आफूले पनि खान पर्यो । सरकारले हेरेको भए यस्तो अवस्था श्रमिकको हुने नै थिएन । नयाँ तरीकारले नै जानुपर्छ । नयाँ नेतृत्व युवाहरू नै आउनुपर्छ । सरकारले केही पनि गर्दैन् । काम गर्दा दुर्घटना हुन्छ, त्यसको सुरक्षा छैन । दुर्घटनामा परेर साढे दुई लाख खर्च भयो तर कम्पनीले ५० हजार मात्र दियो । यस्तै छ हाम्रो हाल ।’
प्रतिक्रिया