दुहबी : बहुप्रतीक्षित रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक आयोजनाअन्तर्गत दुहबी खण्डको साढे ६ सय मिटर सडक यस आर्थिक वर्षमा निर्माण नहुने भएको छ।
४४.२७ किलोमिटर लामो उक्त आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको भए पनि दुहबी बजार क्षेत्रको मुख्य साढे ६ सय मिटर सडक खण्डमा हालसम्म ठेक्का प्रक्रिया नै अघि बढ्न नसकेको हो।
दुहबी नगरको व्यस्त बजार क्षेत्र पार गर्ने उक्त खण्डमा सडकको राइट अफ वे (अधिकार क्षेत्र) स्पष्ट नभएका कारण काम रोकिएको थियो। तर अदालतको आदेशपछि मेयर वेद गच्छेदारले २ महिना अघि नै सडक क्षेत्रभित्रका सबै संरचना हटाइसकेका छन्।
यद्यपि आवश्यक कानुनी प्रक्रिया र ठेक्का प्रणाली अघि नबढेकाले उक्त खण्ड यो आर्थिक वर्षमा निर्माण हुन नसक्ने आयोजनाले जनाएको छ।
सडक विस्तारका लागि संरचना हटाएको चार महिना बितिसक्दा पनि निर्माणको ठेक्का प्रक्रिया अघि नबढ्दा स्थानीय व्यापारीहरू आक्रोशित भएका छन्।
डोजर लगाएर बजार क्षेत्रका संरचनाहरू पूर्ण रूपमा हटाइएको भए पनि हालसम्म निर्माण कार्य सुरु नहुँदा त्यो क्षेत्र अव्यवस्थित र क्षतविक्षत अवस्थामा पुगेको छ।
सडक विस्तारको नाममा व्यापारिक भवनहरू हटाइएपछि बजार पछाडि सरेर व्यवसाय सञ्चालन भइरहे पनि मूल सडक क्षेत्र धुलाम्मे,खाल्डाखुल्डी र जोखिमयुक्त अवस्थामा रहेको व्यापारीहरूको गुनासो छ।
उनीहरूका अनुसार निर्माण प्रक्रिया यति लामो समयसम्म अघि नबढ्दा व्यापारमा समेत ठुलो असर परेको छ।
"संरचना हटाउने बेला हामीलाई छिट्टै निर्माण सुरु हुन्छ भन्ने आश्वासन दिइएको थियो। तर अहिले चार महिना भइसक्यो, ठेक्काको प्रक्रिया नै अलमलमा परेको देखिन्छ," एक स्थानीय व्यापारीले भने।
आयोजनाअनुसार सो सडक खण्डको ठेक्का प्रक्रिया बजेट अभावका कारण अघि बढ्न सकेको छैन।
अर्कोतर्फ,बजार क्षेत्र बाहिरको उत्तर(दक्षिण १,३०० मिटर सडक खण्डमा भने कालोपत्रेको काम तीव्र गतिमा भइरहेको छ। आयोजनाका इन्जिनियर एवम् सुचना अधिकारी दुर्गा मण्डलका अनुसार सो खण्डको निर्माणको जिम्मा मैनाचुली हिमतारा जेभीले २८ करोड ४१ लाख रुपैयाँमा पाएको हो।
आयोजनाका अनुसार हाल निर्माणाधीन सडक खण्डमा नालाको कभर हाल्ने,प्रभावकारी ढल निकास (ड्रेनेज) प्रणाली बनाउने तथा वरपरको क्षेत्रलाई व्यवस्थित गर्न बेरिङ कोट (bearing coat) लगाउने काम अन्तिम चरणमा पुगेको छ।
निर्माण कम्पनी मैनाचुली–हिमतारा जेभीका प्रोजेक्ट इन्जिनियर रामनरेश यादवका अनुसार बाँकी संरचनात्मक कामहरू पनि शीघ्र सम्पन्न गरिने लक्ष्य लिइएको छ। "यथाशीघ्र सम्पूर्ण कार्य सम्पन्न गरी सडकलाई सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ," इन्जिनियर यादवले जानकारी दिए।
दुई भागमा विभाजित लगभग २ किलोमिटर क्षेत्रफलमा ४ लेनको मात्रै सडक निर्माण भइरहेको छ।
त्यस्तै,दुहबीकै बुढी खोलामा निर्माण भइरहेको पुलको काम पनि ९० प्रतिशत सकिएको छ। आयोजनाले सबै निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गरी सडक डिभिजनलाई हस्तान्तरण गर्ने तयारी गरेको जनाएको छ।
रानी -विराटनगर-हुँदै धरान तिनकुनेसम्मको ४४.२७ किलोमिटर लामो ६ लेन सडक योजना १६ ओटा निर्माण कम्पनीहरूसँग ठेक्का सम्झौता गरेर अघि बढाइएको थियो। तर, कार्यान्वयनमा अपेक्षित गति नआएको देखिन्छ। हालसम्म जम्मा ३२.८४ किलोमिटर मात्रै सडक निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको छ।
योजना सफल भए धरान–इटहरी सडक पूर्वका सबैभन्दा व्यवस्थित ६ लेन मार्ग बन्ने थियो, जसले व्यापार, पर्यटन र औद्योगिक क्रियाकलापमा गतिशीलता ल्याउने आशा गरिएको थियो ।
प्रतिक्रिया