काठमाडौँ : नेपाल प्रहरीको सर्वोच्च पद महानिरीक्षक (आइजिपी) मा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्। सरकारले शुक्रबार बिहान भदौ १९ देखि नेतृत्व सम्हाल्ने गरी ३२औं आइजिपीका रूपमा खापुङलाई नियुक्त गरेको हो।
प्रहरी सेवामा प्रवेश गरेको चार वर्षमा झन्डै जीवन गुमाएका खापुङ नेपाल प्रहरीको सर्वोच्च पदमा पुगेका छन्। बेलाबखत साथीभाइसँग जिस्कँदा उनले भन्ने गरेका थिए, ‘म गोली खाएर बाँचेको हुँ, आइजिपी हुन्छु।’ संयोग पनि उस्तै पर्यो, विद्यमान प्रहरी नियमावलीअनुसार दुई महिना नौ दिन ७९ हजार प्रहरीको कमान्ड गर्ने अवसर उनले पाएका छन्।
उनी आइजिपी हुनुमा अर्को संयोग पनि रह्यो। यतिबेला संसद्बाट प्रहरी ऐन पास हुने र वर्तमान आइजिपीले नै निरन्तरता पाउने अवस्था थियो। राज्यव्यवस्था तथा सुशासन समितिमा संघीय प्रहरी ऐनबारे घनीभूत रूपमा छलफल चलिरहेका बेला निजामती ऐनमा आएको समस्याले प्रहरी ऐनको छलफल रोकियो। समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्यो। यस्तो सोच्दै नसोचेका घटनाले पनि उनलाई आइजिपीको कुर्सीमा पुर्याएको हो।
हालका महानिरीक्षक दीपक थापा भदौ १८ मा अनिवार्य अवकाशमा जाँदै छन्। उनीसँगै एआइजीहरू सुदीप गिरी र टेकबहादुर तामाङ पनि अवकाशमा जानेछन्। एआइजी कृष्णहरि शर्मा पोखरेल त भदौ १४ गते शनिबारबाटै अवकाशमा गइसकेका छन्। उनको शुक्रबार नै बिदाइ भइसकेको छ।
तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा जन्मेका खापुङ २०५२ कात्तिक २७ गते प्रहरी सेवामा प्रवेश गरेका हुन्। उनले प्रहरी सेवामा प्रवेशका लागि अदालतको आदेश नै कुर्नुपरेको थियो। उनीसँगै भर्नाका लागि आवेदन दिएका र उत्तीर्ण भएकाहरू नियुक्त हुँदा पनि छुटेपछि खापुङ अदालतमा पुग्नुपरेको थियो।
नियुक्तिका लागि समूह ‘क’मा परेका तत्कालीन आइजिपी वसन्त कुँवरहरूले २०५१ चैत ५ गते नियुक्तिपत्र लिइसकेका थिए। अर्कातर्फ भदौ १८ मा अहिलेको आइजिपी दीपक थापाले नियुक्ति लिएका थिए भने कात्तिक २७ मात्रै खापुङको नियुक्ति भएको थियो। यसरी हेर्ने हो भनेचाहिँ यो नियुक्तिको कारक पनि कालान्तरमा आइजिपी हुनकै लागि रहेछ भन्ने देखिएको छ।
प्रहरी संगठनको जिम्मेवारी नै संवेदनशील भएकाले उनको नियुक्ति भएदेखि नै माओवादी युद्धको सामना गर्नुपरेको थियो। सम्भवतः गोली नै लागेर आइजिपीमा पुगेका चाहिँ खापुङ मात्रै हुन्। नेपाल प्रहरीभित्र धेरै अधिकृत घाइते भएका छन्। यद्यपि सर्वोच्च पदका कमान्डर घाइते ह्नेमा खापुङ पर्छन्।
२०५६ सालको मंसिरमा उनी सिन्धुपाल्चोकको मांखामा खटिएका थिए। इन्सपेक्टर भएको चार वर्ष मात्रै भएका बेला जोसिला खापुङ द्वन्द्वको सामना गर्न त्यहाँ पुगेका हुन्। सिन्धुपाल्चोकको मांखा डाँडामा २०५६ सालको मंसिरमा प्रहरीले सञ्चालन गरेको कडन एन्ड सर्च अपरेसनमा उनी घाइते भएका थिए। अप्रेसन टोलीको कमान्डर पनि उनै थिए। आइजिपी हुनपूर्व यो विषयमा राजनीतिक तहमा पनि कुरा उठेको थियो।
प्रहरी नियमावलीमा कुनै फेरबदल नआए आफू आइजिपी हुने लाइनभन्दा बाहिर नभएको भन्दै राजनीतिक दलका नेताहरूका घरमा धाउन उनले चाहेनन्। ‘जहाँ जानुपर्ने थियो, त्यहाँ एकाध पटक पुगियो, सामान्य रूपमा आफ्ना कुरा भनियो। धेरै दौडधुप गर्नुको अर्थ पनि थिएन। सरकारले पनि न्याय गर्छ भन्ने छ,’ आइजिपी नियुक्तिपूर्व आफ्ना केही समकक्षीहरूसँग उनले भनेका थिए।
तीन दिनअघि मात्रै वर्तमान आइजिपी दीपक थापा र सिआइबी प्रमुखको हैसियतमा उनी एकैसाथ प्रधानमन्त्री निवास पुगेका थिए। त्यो भेटमा केकस्ता कुराकानी भएका थिए भनेर केही पनि सार्वजनिक भएके छैन। एक प्रकारले भन्ने हो भने उनी मौन थिए। गीत रेकर्ड गरेर समय बिताइरहेका थिए। ‘बाहिर दौडधुप गर्ने समयलाई जोगाएर गीतसंगीतमा लागेको छु,’ साथीभाइसँग उनले भन्ने गरेका थिए।
प्रहरी सेवामा प्रवेश गरेयता खापुङले विभिन्न कार्यलयको जिम्मेवारी समालेका छन्। जिम्मेवारी समाल्नु नियमित प्रक्रिया हो। जिम्मेवारी सम्हालेपछि उनले के काम गरे भन्नेचाहिँ महत्त्वपूर्ण विषय हो। एसएसपी हुँदा उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वमा रहे। प्रदेश संरचना कार्यान्वयनपछि खापुङ कोसी प्रदेश प्रहरी प्रमुख बने।
२०८२ वैशाख ४ गते एआइजीमा बढुवा भएपछि उनलाई सिआइबीको प्रमुखको जिम्मेवारी दिइयो। हाल उनी त्यहीँ छन्। जिम्मेवारीमा कार्यशैलीमा विवाद देखिएको छैन। ठुलो विवादमा नपरेका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा निस्किनुअघि शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १९ बाट लागु हुने गरी ज्येष्ठता र वरिष्ठताका आधारमा एआइजी खापुङलाई नेपाल प्रहरीको ३२औं आइजिपी नियुक्त गर्ने निर्णय गरे। यो निर्णयसँगै उनी भदौ १८ गतेदेखि नेपाल प्रहरीको ३२औं महानिरीक्षकको जिम्मेवारीमा हुनेछन्।
२०५१ सालका प्रहरी निरीक्षकको विज्ञापनबाट खापुङ नेपाल प्रहरीमा प्रवेश गरेका हुन्। २०५१ ब्याचका प्रहरी निरीक्षकमध्ये वसन्तबहादुर कुँवर आइजिपी भई गत चैत ४ गते अवकाशमा गएका थिए। उनकै वैकल्पिक दीपक थापा पनि साढे पाँच महिना आइजिपी बनेर अवकाशमा जाँदै छन्। यही ब्याचको वैकल्पिकमा परेका खापुङ प्रहरी महानिरीक्षक बनेका हुन्।
खापुङले २०५१ सालमै खुलेको विज्ञापनमा प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका थिए। तर एउटै विज्ञापनमा प्रतिस्पर्धा गरेकामध्ये पहिलो लटका वसन्तबहादुर कुँवरसहित २०५१ चैत ५ गते भर्ना भए। यो लटबाट कुँवर आइजिपी बने। त्यसपछि वैकल्पिक सूचीमा रहेका दीपक थापा, टेकबहादुर तामाङसहित २०५२ भदौ १९ गते नियुक्त भए।
यो टोलीबाट थापा आइजिपी बने। त्यसको अढाइ महिनापछि २०५२ कात्तिक २७ गते खापुङसँगै लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल नियुक्त भए। लालमणि आचार्य एआइजीको उमेर हदका कारण जेठमै अवकाशमा गइसकेका छन्। पोखरेल पनि भदौ १५ गते अवकाश हुने भएपछि खापुङ आफ्नो ब्याचका एक मात्रै आइजिपी दाबेदार थिए।
खापुङले यसअघि प्रधानमन्त्रीको सुरक्षा प्रमुखको, युएन मिसनमा हाइटीमा दुई पटक सेवादेखि प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन प्रमुखको जिम्मेवारी सम्हालेका थिए। उनले इटाली, कोरिया, भियतनाम र चीनबाट विभिन्न सुरक्षासम्बन्धी तालिम लिएका छन्। खापुङ सम्भवतः आइजिपी इतिहासमै दोस्रो सबैभन्दा कम समय नेतृत्वमा रहनेछन्।
३० वर्षे सेवा अवधिका कारण उनी आगामी २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जान्छन्। नयाँ प्रहरी ऐन जारी नभए उनी दुई महिना नौ दिनका लागि आइजिपी बन्ने सम्भावना रहन्छ। यसअघि प्रहरीको इतिहासमा सबैभन्दा कम समयका लागि तोरणशमशेर जबरा प्रहरी प्रमुख बनेका थिए। २०१२ चैत २८ मा आइजिपी बनेका उनी २०१२ चैत ३१ सम्म आइजिपी बनेका थिए। आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया