गण्डकी : गण्डकी प्रदेशको कास्की, बागलुङ, तनहुँ, म्याग्दी, मनाङ, लमजुङ, पर्वत र गोरखालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि आठवटै जिल्लालाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको हो ।
प्रदेशका बाँकी जिल्ला स्याङ्जा, नवलपुर र मुस्ताङलाई यही असारभित्र पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कास्कीलाई सोमबार र लमजुङलाई आज पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताए ।
पहिलो पटक विसं २०७५ मा गण्डकी प्रदेश नै पूर्णखोप सुनिश्चित प्रदेश घोषणा भए पनि त्यसयता बर्सेनि हरेक स्थानीय तह, जिल्ला र प्रदेशलाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गर्ने गरिएको उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयका अनुसार जन्मेदेखि २३ महिना उमेर समूहका बालबालिकाले १३ प्रकारका रोगविरुद्ध लगाइने सम्पूर्ण खोप पाएपछि पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको छ ।
घोषणासँगै यसको दिगोपनाका लागि हरेक वर्ष खोप अभियान सञ्चालन गर्ने गरिएको मन्त्रालयले जनाएको छ । खोप लगाउनबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस् भनेर खोजीखोजी खोप लगाउने गरिएको जिल्ला खोप समन्वय समिति, बागलुङका सदस्य सचिव घनश्याम सापकोटाले बताए ।
स्वास्थ्यमन्त्री पाठकले खोप कार्यक्रम तीनै तहका सरकारको प्राथमिकतामा रहेको बताए । नियमित खोप पाउनु बालबालिकाको अधिकार र खोप दिलाउनु राज्यको दायित्व रहेको उनको भनाइ छ । मातृ तथा नवशिशु मृत्युदर घटाउन पूर्णखोप अभियानले सहयोग पु¥याइरहेको स्वास्थ्यमन्त्री पाठकले बताए ।
प्रदेशका करिब २५ हजार बालबालिकालाई नियमित खोपको दायरामा ल्याइएको जनाउँदै उनले सबै जिल्ला घोषणा भएपछि गण्डकीलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिने बताए ।
प्रतिक्रिया