कोशी लगानी सम्मेलनमा सरोकारवालाहरूको जोड, 'उद्यमशीलताको प्रवर्धनका लागि नीतिगत सुधार आवश्यक'

शुक्रबार, १९ बैशाख २०८२

विराटनगर : कोशी प्रदेशमा हालै सम्पन्न लगानी सम्मेलनसँगै शुक्रबार विराटनगरमा आयोजित ‘उत्पादन–व्यापारको व्यावसायिकरण र उत्प्रेरणा’ विषयक छलफल कार्यक्रममा विभिन्न उद्यमी, विज्ञ तथा सरोकारवालाहरूले उद्यमशीलता र औद्योगिक विकासका लागि सरकारले नीतिगत र व्यवहारिक सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको भन्दै सरकारबाट नीति, संरचना र वातावरण सहज हुनुपर्ने धारणा राखे । उनले श्रम, जमिन र पुँजीका साथै सीपयुक्त जनशक्तिको विकासमा जोड दिँदै समूहगत कार्यशैली र तदारुकता नै सफलताको सूत्र भएको बताए । गुरुङले जलविद्युत क्षेत्रमा थुप्रै योजना कार्यान्वयन नहुँदा अपेक्षित उत्पादन हुन नसकेको उल्लेख गरे ।

उद्योग संगठन मोरङका पूर्व अध्यक्ष सुयश प्याकुरेलले निजी क्षेत्रलाई प्रवर्धन गर्ने कानुनी ढाँचा आवश्यक भएको भन्दै अहिलेको नियन्त्रणमुखी कानुनले लगानी प्रवाहमा अवरोध पु¥याएको बताए । औद्योगिक विकासका लागि २४ घण्टा विद्युत आपूर्ति अनिवार्य रहेको र चोरी पैठारीले स्वदेशी उद्योग प्रभावित भएकोमा उनले चिन्ता व्यक्त गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले औद्योगिकरणमा प्रविधिको प्रयोग बढाउनुपर्ने बताउँदै, स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरूको दिगो सम्भावनाबारे जानकारी दिए । सूचना प्रविधिमा आधारित उद्योगको आवश्यकता औंल्याउँदै उनले “इन्डस्ट्री फोर“ को अवधारणामा केन्द्रित हुनुपर्ने सुझाव दिए ।

WhatsApp Image 2025-05-02 at 6.14.42 PM

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.राजेन्द्र अधिकारीले प्रदेशमा कृषि, पर्यटन, ऊर्जा र उद्योगका क्षेत्रमा लगानीको विशाल सम्भावना रहेको जानकारी गराए । कृषि तथा पर्यटन विषयमा आयोजित प्यानल छलफलमा विज्ञहरूले कोशी प्रदेशका रैथाने बालीहरू र प्राकृतिक सौन्दर्यलाई व्यावसायिकरण गर्न आवश्यक लगानीको खाँचो औंल्याए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले विश्व पर्यटन बजारमा ‘अनुभवमुखी’ गन्तव्यको माग बढेको बताए । उनले नेपालको प्राकृतिक र साहसिक विविधता पर्यटकहरूलाई आकर्षित गर्न सक्षम रहेको उल्लेख गरे । कृषि विज्ञ डा. तिलचन्द्र भट्टराईले कोदो, फापर, अलैँची, अदुवा, चिया जस्ता उत्पादनहरूको प्रवर्धन र आधुनिकीकरणका लागि समय अनुकूल रहेको बताए ।

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले लगानीमैत्री वातावरण बनाउने हेतुले झन्झटिलो प्रक्रिया घटाउनुपर्ने र कानुनी सरलता आवश्यक रहेको बताए । वातावरणीय मूल्यांकनमा हुने ढिलाइका कारण परियोजना प्रभावित हुने अवस्था रहेको भन्दै उनले कार्यान्वयन पक्षलाई चुस्त बनाउन सुझाव दिए ।

’पूर्वाधार विकास र उर्जा क्षेत्रको भविष्य’ सम्बन्धी छलफलमा पूर्वसचिव मनिराज गेलालले कोशीको अवस्थालाई सन्तोषजनक भने पनि आर्थिक रूपान्तरणका लागि अझ धेरै सुधार आवश्यक रहेको बताए । सहरी विकास विज्ञ किशोर थापाले व्यवस्थित सहरीकरण, रोजगारी सिर्जना र जीवनोपार्जनमुखी विकासमा ध्यान दिनुपर्ने धारणा राखे ।

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का अध्यक्ष गणेश कार्कीले कोशीमा ३४ हजार मेगावाट जलविद्युत उत्पादनको सम्भावना हुँदाहुँदै हाल ६ सय मेगावाट मात्र उत्पादन भइरहेको बताए । विद्युत व्यापारमा भारत र बंगलादेशसँग भएका सहमतिहरूले विशाल सम्भावना खोलिदिएको उल्लेख गर्दै उनले उत्पादन विस्तारका लागि नीतिगत सहजीकरण अपरिहार्य रहेको बताए ।

 

काठमाडौं विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा.विराजसिंह थापाले जल, जमिन, जंगल, जडिबुटी र जनशक्तिको समुचित उपयोग गर्न सके कोशीले विकासमा ठूलो फड्को मार्न सक्ने धारणा राखे । जलवायु परिवर्तनको जोखिम न्यून गर्न नवीकरणीय ऊर्जा र स्वदेशी खनिज स्रोतको उपयोगमा जोड दिनुपर्ने उनले औंल्याए ।

छलफलमा सहभागी अधिकांश विज्ञहरूको साझा निष्कर्ष थियो— 'नीति, संरचना र प्रविधिमा सुधार ल्याई मात्र कोशी प्रदेशमा उद्यमशीलता र लगानी प्रवाहको नयाँ युग सुरु गर्न सकिन्छ ।'
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार