वीरगन्ज : भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह बिहीबार दिउँसोसम्म ठिकठाक थिइन् । उनले दिउँसो मात्र नेपालमा रहेका बुबा श्यामलाल साह कलवारसँग फोनमा कुरा गरेकी थिइन् ।
‘छोरीसँग दिउँसो ३ बजे फोनमा कुरा भएको थियो, एकदम प्रेमसँग कुरा भएको थियो, कुनै असामान्य व्यवहार देखाइनन्,’ छोरीको मृत्युको खबरपछि शुक्रबार राति ओडिसाको भुवनेश्वर पुगेका श्यामलालले भने, ‘राति ८ बजे मृत्युको खबर आयो ।’
श्यामलालले स्थानीय प्रहरी र विश्वविद्यालयसँग घटनाको निष्पक्ष छानबिनको माग गरेको ओडिसाबाट सञ्चालित ओडिसाटिभीको अनलाइन संस्करणमा उल्लेख छ । ओडिसा राज्य सरकारले मृतक प्रिसाको परिवारलाई घटनाबारे निस्पक्ष छानबिन हुने बताइरहेको छ । तर, विश्वविद्यालयमा एकपछि अर्को घटना हुन थालेपछि अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षा र मनोवैज्ञानिक अवस्था सम्बन्धी गम्भीर प्रश्न उठाएको छ ।
जेठी छोरी प्रिसाको मृत्युको खबरपछि बुवाआमा र भाइ ओडिसा पुगेका हुन् । परिवारका सदस्य आएपछि मात्र पोस्टमार्टम गर्ने गरी भुवनेश्वर प्रहरीले शव सुरक्षित राखेको बिहीबार नै दूतावासलाई जानकारी दिइएको थियो । दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर सञ्जीव शर्मा दासका अनुसार शनिबार शव पोस्टमार्टम गर्ने ओडिसा प्रहरीले जानकारी दिएको छ ।
भारतको राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रियंक कानुनगोले गत माघमा भएको घटनालाई अहिलेको घटनासँग जोडेकी छन् । किटमै अध्ययनरत रुपन्देहीकी प्रकृति लम्साल गत ४ माघमा मृत फेला परेकी थिइन् ।
‘अघिल्लो पटक यस्तै घटना हुँदा मानव अधिकार आयोगले अनुसन्धान गरेको थियो, विद्यार्थीको सुरक्षाबारे प्रक्रियागत त्रुटि औँल्याएर सिफारिस गरेको थियो,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘ तर विश्वविद्यालयले ओडिसा उच्च अदालतमा निवेदन दियो, उच्च अदालतले आयोगको सिफारिस रोक लगायो । अहिलेको घटनाबारे पनि हामी जानकारी लिइरहेका छौँ ।’
प्रिसा साहको परिवार बस्दै आएको वीरगन्ज महानगर– १५ भिस्वास्थित घर । किटमा बिटेक प्रथम वर्षमा अध्ययनरत प्रिसा विश्वविद्यालयको होस्टेलमा बिहीबार साँझ मृत भेटिएकी थिइन् । बुबा, आमा र भाइ ओडिसा हिँडेपछि घरमा ताला लागेको छ ।
सर्लाहीको कविलासी नगरपालिका– ८ कविलासी स्थायी घर भए पनि प्रिसाका आमाबुबा वीरगन्ज महानगरपालिका– १५ भिस्वा बस्दै आएका छन् । श्यामलाल बाराको सिम्रौनगढ नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी हुन् ।
प्रिसाका भाइ भने सेन्ट जेभियर कलेजमा पढिरहेका छन् । बिटेक प्रथम वर्षमा अध्ययनरत १९ वर्षीया प्रिसा बिहीबार साँझ विश्वविद्यालय छात्राबासको आफ्नै कोठामा मृत भेटिएको घटनापछि कविलासी र भिस्वा शोकमा डुबेका छन् । चारजना सदस्य रहेको प्रिसाका परिवार चाडपर्वको समयमा गाउँ जान्थ्यो ।
किटमा बिटेक प्रथम वर्षमा अध्ययनरत पर्सा वीरगन्जकी १९ वर्षीया प्रिसा साह विश्वविद्यालयको होस्टेलमा बिहीबार साँझ मृत भेटिएकी थिइन् । घटनामा विश्वविद्यालयले पनि आन्तरिक छानबिन समिति गठन गरेको छ । घटनाबारे ओडिसास्थित प्रहरीले आवश्यक जाँचबुझ गरिरहेको दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर सञ्जीव शर्मा दासले बताए ।
बिहीबार अचेत अवस्थामा छात्राबासमा साहको अवस्था देखेपछि प्रशासनले प्रहरीलाई तत्कालै खबर गरेको र उनलाई केआइएमएस अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको विश्वविद्यालयको विज्ञप्तिमा उल्लेख छ । विश्वविद्यालयले घटनाको अनुसन्धानका लागि प्रहरीलाई पूर्ण सहयोग गरिरहेको तथा परिवारसँग पनि समन्वयमा रहेको शुक्रबार विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
किटमै अध्ययनरत रुपन्देहीकी २० वर्षीया प्रकृति लम्साल मृत फेला परेको साढे दुई महिनामा फेरि अर्को घटना भएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार होस्टेल प्रशासनले हाजिर लिने क्रममा बिहीबार साँझ साढे ७ बजे उनी बस्ने १११ नम्बर कोठाको ढोका ढकढकाउँदा नखुलेपछि बलपूर्वक ढोका खोलेर प्रवेश गर्दा उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
किट विश्वविद्यालयका विद्यार्थीको सुरक्षामा नेपालको चासो, भारतको प्रत्याभूति
किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको मृत्यु प्रकरणपछि नेपाल सरकारले विद्यार्थीको सुरक्षा प्रत्याभूतिमा चासो जनाएको छ । परराष्ट्र मन्त्रालयले किटमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि समन्वय गरिरहेको जनाएको छ । किटमा करिब ४० हजार विद्यार्थी अध्ययनरत छन्, तीमध्ये नेपाली विद्यार्थीको संख्या कम्तीमा १२ सय छ ।
भारतीय विदेश मन्त्रालयले पनि विदेशी विद्यार्थीको सुरक्षा, हितमा सरकार गम्भीर भएको र यसका लागि ओडिसा राज्य सरकारसँग समन्वय भइरहेको जनाएको छ । ‘यस दुःखद घटनाका सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष अनुसन्धान हुन तथा उक्त शैक्षिक संस्थामा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि मन्त्रालयले आवश्यक समन्वय गरिरहेको छ,’ परराष्ट्रद्वारा शुक्रबार साँझ जारी विज्ञप्तिमा भनिएको छ ।
घटनाबारे नेपाली दूतावास, भारतीय विदेश मन्त्रालय, ओडिसा राज्य सरकारका सम्बद्ध निकायलगायतसँग निरन्तर समन्वय भइरहेको परराष्ट्रले जनाएको छ । भारतीय विदेश मन्त्रालयले नेपाली छात्राको मृत्युको घटनामा दुःख व्यक्त गर्दै घटनाको जाँचबुझका लागि ओडिसा राज्य सरकारसँग समन्वय भइरहेको पनि उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीको हित, सुरक्षा र सकुशलतालाई विदेश मन्त्रालयले गम्भीरतापूर्वक लिएको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा तिवारी यादवले यो समाचार लेखेका छन ।
प्रतिक्रिया