इटहरी : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सङ्घीय लोकतान्त्रिक व्यवस्था लागू भए पनि मानसिकता नबदलिएका कारण समस्या भइरहेको बताएका छन् । आज यहाँ नेपाल निजामती कर्मचारी युनियन कोशी प्रदेशको पाँचौँ प्रदेश सम्मेलनमा उहाँले अझै केन्द्रीकृत एकात्मक मानसिकता कायम रहेको बताए ।
कांग्रेस राष्ट्रियसभाका नेता समेत रहेका सिटौलाले व्यवस्थाअनुसारको सोच र सामन्तवादी संस्कार बदल्न आवश्यक रहेको धारणा राखे । “सङ्घीयतामा जानु भनेको सङ्घीयताको मर्मअनुसारका व्यवस्था इमानदारीका साथ कार्यान्वयन गर्नु हो तर हरेक क्षेत्रमा समस्या छ । भएकै अधिकारको पनि विकेन्द्रीकरण गर्न सकेका छैनौँ । यसर्थ हाम्रो संस्कारलाई नबदलेसम्म राज्य संरचना राम्रोसँग चल्दैन”, उनले भने ।
नेता सिटौलाले दुई ठूला पार्टी नेकपा (एमाले) र कांग्रेसले संविधान संशोधनको मुद्दा उठाएर सरकार गठन गरे पनि हालसम्म यस विषयमा कुनै ठोस छलफल नगरेकामा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा, राजीव कोइराला, राजीव ढुङ्गानालगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया