गौरीटापमा देखिएको रौनक (फोटो फिचरसहित)

बुधबार, ३१ बैशाख २०८२

काठमाडौं : सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सिमानामा रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य गौरीटाप प्रवर्द्धन गर्न ‘स्पार्क कार’ले  ‘स्पार्क एड्भेञ्चर’को आयोजना गरेको छ ।

काठमाडौंबाट विद्युतीय सवारी साधनको प्रयोग गर्दै कलाकार, उद्यमी, पर्यटनकर्मी, व्यवसायीलगायत विभिन्न क्षेत्रमा सक्रिय करिब २०० जनाले शुक्रवार र शनिवार गौरीटाप र ओखलढुङ्गाको रुम्जाटारमा बिताए । उक्त क्षेत्रको प्रवर्द्धनमा उनीहरूले सक्रियता जनाएका हुन् ।

प्रचुर सम्भावनाका बाबजुद ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो । यसका लागि काठमाडौँबाट करिब ५० विद्युतीय सवारीसाधनमा उनीहरू सोलुखुम्बु पुगेका थिए । 

‘स्पार्क एड्भेञ्चरको उद्देश्य ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र विद्युतीय सवारीसाधनमार्फत ग्रिन मोबिलिटी प्रवर्द्धन गर्नु हो, पहिलो संस्करण लमजुङको भुजुङ र दोस्रो संस्करण दोलखाको शैलुङमा आयोजना गरिएको थियो । यस पटक गौरीटाप रोजाइमा प¥यो’, स्पार्क कारका निर्देशक सीताराम घिमिरेले भने । 

निर्देशक घिमिरेका अनुसार सगरमाथालाई नजिकबाट नियाल्नका लागि गौरीटाप काठमाडौँबाट सबैभन्दा नजिकको गन्तव्य हो । कालोपत्रे सडकलगायतका पूर्वाधारको सुविधा हुँदा पनि आवश्यक प्रचार प्रचारको अभावमा गौरीटाप पर्यटकीय गन्तव्य बन्न नसकेको उनको भनाइ छ । 

समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय गन्तव्य हो । काठमाडौँबाट २३० किलोमिटरको दूरीमा रहेको गौरीटाप सत्ययुगमा माता गौरीले तपस्या गरेको स्थानका रूपमा परिचित छ । 
चार पाङ्ग्रे सवारीसाधनमै पुग्न सकिने गौरी टापबाट सगरमाथालगायतका आठ हजार मिटरभन्दा अग्ला गौरीशङ्कर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनजङ्घालगायतका हिमाल तथा चुचुराको दृश्यावलोकन गर्न सकिन्छ ।

लालीगुराँसको घना जङ्गल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुराँस पाइन्छन् । धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरीटापमा गौरीशङ्कर–गणेशको मन्दिर, गौरी गाईको मन्दिर र शिव पाञ्चायन मन्दिर छन् । 

आँखा अगाडि देखिने हिमशृङ्खलाको अघिल्तिर कलाकारहरू विमलराज क्षेत्री, सुनिता दुलाल, सन्दीप क्षेत्री, राजा राजेन्द्र, आस्था राउत र राजु लामा एण्ड मंगोलियन हर्टले आफ्नो प्रस्तुति दिएका थिए । सो क्रममा सांस्कृतिक एकता, रैथाने खाना र संस्कृतिको प्रवर्द्धन गर्न अभिनेता राजेश हमालले आग्रह गरे ।

यस्तै, कतैबाट पनि पहिचानमा आउन नसकेको ठाँउहरुलाई छनोट गरेर प्रत्येक वर्ष यस्तै कार्यक्रम गर्ने भन्दै नेपालको भूगोल र युवाहरूको रुचि भएका साहसिक र रोमाञ्चक कार्य पनि बढाउने निर्देशक घिमिरेले जानकारी दिए । 

उनले भने, ‘नेपालको भूगोल नै रोमाञ्चक खालको भएको हुनाले र युवा जमात पनि साहसिक काम गर्न रुचाउने भएको हुनाले पनि साहसिक कामलाई प्रोत्साहन गर्न चाहन्छौ, हामी प्रत्येक वर्ष यस्ता कामहरू गर्नेछौ । कतैबाट पनि पहिचानमा आउन नसकेको ठाउँहरूलाई छनोट गरेर प्रत्येक वर्ष कार्यक्रम गर्नेछौ ।’

उनले स्थानीय उत्पादन, साना उद्योगहरू जति पनि छन्, त्यसलाई पनि व्यापारिक गर्ने उद्देश्यले कार्यक्रमहरूको आयोजना गरेको बताए । 

नेपालमा विद्युतीय सवारी साधनको बढ्दो प्रयोगलाई पनि ध्यानमा राखेर त्यसलाई प्रोत्साहन गर्ने हिसाबमा पनि बढिभन्दा बढी विद्युतीय सवारी साधनको प्रयोगलाई बढाएको पनि उनले जानकारी दिएका छन् । 

उनका अनुसार, ‘पर्यटन प्रवर्द्धनको लागि कार्यक्रमहरू गर्दै जाँदा अहिले धेरै ठाउँबाट कार्यक्रम गर्नको लागि फोनहरू आउने गरेको छ । विशेष गरी सवारी व्यवस्थापन गर्ने काम हो । यस वर्ष हामीले विद्युतीय गाडीलाई प्रवर्द्धन गर्नको लागि पनि विद्युतीय सवारी साधनलाई बढाएका छौ । यस्ता सवारी साधन बढे अनुसारको चार्जिङ् स्टेसन छैन । यसमा स्थानीय सरकारले पनि आफ्नो लगानी गर्न सुरु गरेको छ । अब चार्जिङ् स्टेसनहरू पनि बढ्ने आशा गरेको छु ।’

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार