मुख्यमन्त्री सिंहको विद्यालय अनुगमन : "शिक्षामा गुणस्तर, बेथितिमा सुधार"

बुधबार, ३१ बैशाख २०८२

जनकपुर : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय शिक्षा व्यवस्थापन गुणस्तरयुक्त र प्रभावकारी बनाउन सम्बद्ध पक्षलाई निर्देशन दिएका छन् । 

मङ्गलवार धनुषाको हङ्सपुर नगरपालिकाका दुई सामुदायिक विद्यालयको अनुगमन गरी विद्यमान बेथिति तथा विसङ्गति हटाउन पालिका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक तथा शिक्षकहरूलाई निर्देशन दिएका हुन् । 

मुख्यमन्त्री सिंहले अनुगमनका क्रममा उक्त नगरपालिका–२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, बघचौँडामा निजी विद्यालयमा अध्ययनरत रहेका विद्यार्थीको नाम देखाएर तिनका नाउँबाट छात्रवृत्ति तथा खाजा सुविधा उपलब्ध गराइएको फेला परेको बताए । 

शिक्षाविद् गुरु सुवेदीले नक्कली विद्यार्थी कायम गरेर विद्यालयले छात्रवृत्ति, खाजालगायत विभिन्न छ–सात वटा शीर्षकमा सरकारबाट प्राप्त रकम दुरुपयोग भइरहेको बताए । 

मुख्यमन्त्री सिंहले नक्कली विद्यार्थी कायम गरेर सरकारी साधन स्रोतको दुरुपयोग गम्भीर विषय भएकाले यसलाई नियन्त्रण तथा नियमन गर्न सम्बन्धित निकायमा पत्राचार गर्न प्रदेश शिक्षा निर्देशक महेन्द्र महतोलाई निर्देशन दिए । 

यसै गरी मुख्यमन्त्री सिंहले सोही नगरपालिका ८ झटियाहीस्थित श्री मिथिला तिलक नन्दकुमारी कार्की माध्यमिक विद्यालयको समेत अनुगमन गरेका छन् । विद्यार्थीको अत्यधिक चाप रहने माध्यमिकस्तरको विद्यालयमा शौचालयजस्ता आधारभूत संरचना नहुनु दुःखद भएको भन्दै उनले व्यवस्थापनका लागि तत्काल पहल गर्न नगर उपप्रमुख दुर्गादेवी मण्डलको ध्यानाकर्षण गराए । 

उपप्रमुख मण्डलले शौचालय निर्माणका लागि रकम निकासा भइसकेको र यसै आर्थिक वर्षमा शौचालय निर्माण गरिने जानकारी गराएकी थिइन् ।  

मधेस प्रदेश, शिक्षा तथा संस्कृति मन्त्रालयले प्रदेशका एक सय ३६ वटै  पालिकालाई एक महिना अगाडि पत्राचार गरी सामुदायिक विद्यालयको शिक्षण प्रणालीमा सुधार ल्याउन सुझावसहित ध्यानाकर्षण गराएको थियो ।
 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार