गण्डकी : नेपाल प्रेस युनियनद्वारा आयोजित ‘लोमन्थाङ इन्टरनेशनल मिडिया समिट’ अन्तर्गत मङ्गलवार जोमसोममा सम्पन्न ‘जोमसोम क्लाइमेट वक्र्ससप’ कार्यक्रममा विगतमा कम पानी पर्ने जिल्लामा ‘आरी घोप्टे’ अर्थात् भारी वर्षा हुने गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
विश्वका बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा सञ्चार क्षेत्रले भोग्नुपरेका समस्या, दक्षिण एसियाको पत्रकारिताको प्रभाव, प्रेस स्वतन्त्रता र नेपाली पत्रकारितालगायत विषयमा छलफल गर्ने गरी युनियनले गरेको मिडिया समिटअन्तर्गतको जोमसोममा आयोजित कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनले पारिरहेको प्रभावका सम्बन्धमा विभिन्न भनाइ राखेका हुन् ।
नेपाल पत्रकार महासङ्घ मुस्ताङका संस्थापक अध्यक्ष भीम रसाइलीले नेपालकै कम पानी पर्ने जिल्ला मुस्ताङमा पछिल्लो समयमा आरी घोप्टे वर्षा हुने गरेको र त्यसले कृषिलगायतका क्षेत्र प्रत्यक्ष प्रभावित भएको बताए ।
जलवायु परिवर्तनले मुस्ताङको कृषि क्षेत्रमा प्रत्यक्ष असर पार्नुका साथै मौसमको प्रतिकूलतासँगै बाढी पहिरोलगायतका विभिन्न प्रकोप बेहोर्नुपरेको रसाइलीले बताए । सुन्दर मुस्ताङलाई जलवायु परिवर्तनका कारण पर्ने असरबारे आजैदेखि ध्यान दिनु जरुरी रहेको बताउँदै उनले यहाँको धार्मिक महत्त्वको मुक्तिनाथ मन्दिर व्यवस्थालगायतलाई प्रभावकारी बनाउनु जरुरी भएको धारणा राखे ।
जलवायु परिवर्तनकै असरका कारण मुस्ताङमा तीन वर्षयता हिउँ पर्नुपर्ने समयमा हिउँ नपर्दा समस्या निम्त्याएको स्थानीय शेरबहादुर गुरुङले बताउँछन् । तापक्रममा आएको परिवर्तनकै कारण स्याउमा विभिन्न रोगहरू लाग्न थालेको बताउँदै यसको प्रभाव न्यूनीकरणतर्फ बेलैमा ध्यान नदिए भयावह अवस्था आउने उनको भनाई छ ।
कृषि उत्पादनमा विषादीको बढ्दो प्रयोग पनि समस्याका रूपमा देखा परेको बताउँदै अर्का स्थानीय कृष्ण गौचनले हाम्रा सम्पदास्थलहरूो संरक्षण तथा विकासमा नाममा डोजरहरूको जथाभाबी प्रयोगलाई रोक्नु अपरिहार्य भएको बताए ।
तीन चार वर्ष पानी नपरेकै कारण स्याउ तथा अन्य कृषि उत्पादनमा समस्या परेको बताउँदै उनले बढ्दो बाढी पहिरो र काली नदीको बर्सेनि कटान गम्भीर चुनौतीका रूपमा देखा परेको धारणा राखे ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष हरिहर विरहीले जलवायु परिवर्तनको असर पर्नुमा हाम्रो केही दोष नभए पनि त्यसको प्रत्यक्ष असर भोग्नुपरेको बताए ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जलवायु परिवर्तनले विश्वमा नै प्रभाव पारिरहेका अवस्थामा मुस्ताङलाई लक्षित गरी कार्यक्रम गरिएको बताए ।
गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले पछिल्ला समयमा कागबेनीमा आएको बाढीजस्ता धेरै जनवायु परिवर्तनजन्य समस्याको न्यूनीकरणका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने बताएका छन् ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले काली गण्डकीमा पानीको बहाव बढ्दा निर्माण गरिएका तटबन्धहरू भत्कँदै जाँदा समस्या हुने गरेको उल्लेख गरेका छन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले हिमालपारिको जिल्लाको नाम पाएको मुस्ताङ जलवायु परिवर्तनका असरका कारण कालापत्थरपारिको जिल्ला बन्छ की भन्ने चिन्ता बढाएको बताए ।
युनियनका महासचिव दिलीप पौडेलले युनियनले लोकतन्त्र, प्रेस स्वतन्त्रताका साथै जलवायु परिवर्तनको बढ्दो प्रभावलगायतका विषयमा छलफल गर्ने गरी लोमन्थाङ इन्टरनेशनल मिडिया समिट आयोजना गरेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया