धनकुटा : नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाले धनकुटा जिल्ला प्रहरी कार्यालय परिसरमा निर्माण सम्पन्न भएका विभिन्न संरचनाहरूको बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरेका छन्। उद्घाटन गरिएका भवनहरूमा कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष, सिनियर प्रहरी आवास, र भान्साघर समेत छन्।
आईजीपी थापाले उद्घाटनपश्चात भवनहरूको निरीक्षण गर्दै परिसरमा वृक्षारोपण पनि गरेका थिए। कार्यक्रममा भवन निर्माणमा योगदान दिने विभिन्न व्यक्तित्वहरूलाई कदरपत्र, प्रशंसापत्र र नगद पुरस्कारद्वारा सम्मान गरिएको थियो। त्यसै अवसरमा थापाले श्रीपञ्चमी पार्क बालकेन्द्रमा आश्रित बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरे।
कार्यक्रममा बोल्दै आईजीपी थापाले नवनिर्मित भवनहरूले प्रहरी कर्मचारीहरूमा मनोबल वृद्धि गर्ने र कामप्रति थप प्रेरणा दिने विश्वास व्यक्त गरे। नेपाल प्रहरी जनताको भरोसाको केन्द्र भएको उल्लेख गर्दै उनले प्रहरीलाई नागरिकमैत्री र व्यावसायिक सेवामा केन्द्रित हुन निर्देशन दिए। साथै, विकृति, विसङ्गति, आत्महत्या, लागूऔषध दुर्व्यसन, सवारी दुर्घटना, घरेलु हिंसा तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथिका अपराध नियन्त्रणमा समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, र पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले शुभकामना मन्तव्य राखे। कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी ईश्वर कार्कीले धन्यवाद मन्तव्य दिएका थिए भने जिल्ला प्रहरी प्रमुख एसपी शरत कुमार थापा क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए।
प्राविधिक प्रहरी उपरीक्षक हरि डङ्गोलले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। नेपाल सरकारको नियमित बजेटबाट कुल ९ करोड ९९ लाख ८० हजार १ सय ८५ रूपैयाँ ८५ पैसाको लागतमा निर्माण सम्पन्न भएको उक्त कार्यक्रममा सुरक्षा निकायका प्रमुख, सरकारी निकायका प्रतिनिधि, विभिन्न राजनीतिक दल, संघसंस्था, पत्रकार तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रतिक्रिया