आजको राशिफल बि.सं २०८२ जेष्ठ ४ गते आईतवार ई.सं २०२५ मे १८

आइतबार, ०४ जेठ २०८२

आजको राशिफल बि.सं २०८२ जेष्ठ ४ गते आईतवार ई.सं २०२५ मे १८ नेपाल सम्बत ११४५ बछलागा पञ्चमी , सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण षष्ठि, चन्द्रमा मकर राशिमा, उत्तरषढा नक्षत्र, शुभ योग, तैतल करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर १३ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४७ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ३६ मिनेट देखि १० बजेर १८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Sign

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न आजको दिन अनुकूल समय देखिन्छ । कुनै कुरामा दुविधा भएमा अभिभावक वा बुजुर्ग व्यक्तिहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता हुनेछ । हाकिम वा वरिष्ठ कर्मचारीसँग निकटता बढ्नाले विशेष लाभ लिनसक्ने समय हो, अतिरिक्त आम्दानी हुनाले तत्कालको गर्जो टार्न सघाउ पुग्नेछ । आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ ।

Sign

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

व्यक्तित्व विकास हुने वा सफलता र सम्मान प्राप्त गर्ने समय हो, मान्यजन वा सिनियर्सको सद्भाव लिन सकेमा भविष्य सुन्दर बन्ने सङ्केत छ । कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ आदिले कारोबारमा सफलता दिलाउनेछन् । अरुका नकारात्मक कुरामा ध्यान नदिई काममा मात्र फोकस गर्ने दिन हो । फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ ।

Sign

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । जोखिम र सङ्कटले घेरेको समय छ, धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र महत्त्वाकाङ्क्षालाई थाती राखी संयमताका साथमा आफ्नो कामलाई निरन्तरता दिनुहोला । चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ, तर कागजपत्रमा सहीछाप गर्दा सतर्कता अपनाउनु होला ।

Sign

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ । निरङ्कुश बानी र कडापन तपाईंका कमजोरी बन्न सक्छन् । खानपान र आहारविहारको अनुशासन पालना गरेको जाती हुन्छ । कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ ।

Sign

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, तर पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा विवाद एवं अपजसबाट बच्न सकिन्छ । विवाद, प्रतियोगिता वा प्रतिस्पर्द्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो, योजनाबद्ध तैयारी गरे विजय तपाईंको पोल्टामा हुनेछ । शारीरिक थकान र बेचैनीको समय हो, ससाना कुरामा चिन्ताग्रस्त भइने छ, सानातिना विषयमा चिन्ता गर्ने हुँदा आफूमात्र होइन, आफन्त र सँगीसाथीको तनावमा समेत बृद्धि हुने समय छ ।

Sign

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ । कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ । ज्ञान वा अनुभव बढाएर व्यक्तित्वलाई अपडेट गर्नु समुचित हुन्छ । कुनै नयाँ कामको थालनी गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला । ईर्ष्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ ।

 

Sign

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

अरुको भरमा पर्दा काममा बाधा र धोका हुने समय छ । विगतका कमजोरी सुधार गरी कुनै काम दोहोर्याउने परिस्थितिसमेत बन्नसक्छ । होटल÷मोटल, रेस्टोरेन्ट र तरल पदार्थको कारोबार छ भने व्यवसायमा नयाँ ढंगले चिन्तन गर्ने समय आएको छ, खटेअनुसार आम्दानी हुने दिन हो । आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ ।

Sign

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

नयाँ योजना प्रारम्भ गर्न उत्तम समय छ, प्रयास गरेमा कार्यप्रणालीमा सकारात्मक परिवर्तन हुनेछ । सामाजिकता र सामूहिक क्रियाकलापमा दिलचस्पी बढ्नाले पुराना साथीभाइ वा दौंतरीको काममा समेत दौडधूप गर्न सकिन्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सफलता हासिल हुनेछ, त्यस्तै देखिएका चुनौती निवारण गर्न सहकर्मी वा हाकिमको सहयोग प्राप्त हुनेछ । कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ ।

Sign

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

अतिरिक्त आम्दानीका लागि कुनै व्यवसाय, पेसा वा नोकरीका बारेमा आकर्षण छ भने अनुभवी र जान्नेबुझ्नेको राय लिएर अघि बढ्दा जाती हुन्छ । आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु होला । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्धलाई सुदृढ बनाउन सम्बन्ध÷सम्पर्क राख्ने दिन हो, कार्यक्षेत्रमा खटेबमोजिम लाभ पाउन सकिने छ ।

Sign

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

आफूस्वयं पनि राम्ररी खट्ने तथा सहयोगीको समेत सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउने दिन हो, नयाँ लगानीप्रति आकर्षण देखाउँदा राम्रो हुनेछ । जीवनसाथी र परिवारका सदस्यहरूको पूर्ण सहयोग रहने दिन छ । तर तपाईंको हठ र जिद गर्ने बानी छ भने समस्या निम्तिनसक्ने समय हो । आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो ।

Sign

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

सफलता हासिल गर्न प्रतिस्पर्द्धामा जानुपर्ने समय छ, कारोबारमा पनि लगानी बढाउनुपर्ने परिस्थिति देखिन्छ, तथापि अहिलेको लगानीले पछिलाई फाइदा पुग्नेछ । तालमेलमा केही कमी रहने दिन हो । सकेसम्म हरेक व्यवहारमा ठूलाबडाको मर्यादा र सम्मानप्रति सचेतता अपनाउनु आवश्यक देखिन्छ । सोच्दै नसोचेको विषय वा क्षेत्रमा मन केन्द्रित हुनेछ । पढाइ छाड्ने वा फ्याकल्टी नै फेर्ने नकारात्मक सोचसमेत पलाउन सक्छ ।

Sign

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

अनुकूल स्थानान्तरणको योग छ, सम्बद्ध निकायमा कुरा राख्न अनुकूल समय छ । त्यस्तै बढुवा हुनुछ भने ठीक ढंगले तैयारी गर्नुहोला । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउने प्रयास गर्नुपर्छ । खर्चमा अचानक बृद्धि हुने समय छ, जोखिम मोलेर कुनै पनि काम नगर्नु होला, धैर्य र संयमता आजका मित्र हुन् ।

प्रतिक्रिया

ज्यो.पं – हरिप्रसाद भण्डारी
लेखकको बारेमा
ज्यो.पं – हरिप्रसाद भण्डारी
बरिष्ठ ज्योतिष एवं वास्तुविद

बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्बन्धित समाचार