सिरहा : लागुऔषध नियन्त्रण अभियान अन्तर्गत सिरहामा प्रहरीले ठूलो मात्रामा नगद र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
सिरहा नगरपालिका–२२ निवासी ३२ वर्षीय दिनेशकुमार यादवको घरमा शुक्रबार छापा मार्दा प्रहरीले ५४ लाख १४ हजार १८५ रुपैयाँ नेपाली, ३५ हजार ७० भारु र १८० ग्राम ब्राउनसुगर बरामद गरेको हो। साथै लागुऔषध तौल्ने डिजिटल तराजु पनि प्रहरीले फेला पारेको छ।
यसअघि यादव लहान नगरपालिका–१२ स्थित भोटिया टोलबाट को५प ६९२७ नम्बरको मोटरसाइकलमा सवार रहँदा २१ ग्राम ब्राउनसुगर र ५१ हजार ४५० रुपैयाँसहित पक्राउ परेका थिए। मोटरसाइकलमा सँगै रहेकी उनकी बहिनी २६ वर्षीया किरण कुमारी यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ।
सिरहा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानका अनुसार, यादव २०८० साउन १२ गते पनि ३.६ ग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए र ६ महिना कैद भुक्तानपछि माघ ५ गतेमात्र छुटेका थिए। पासवानले भने, “जेलबाट छुटेपछि उनी पुनः लागुऔषध कारोबारमा सक्रिय भएका छन् र यसपटक बहिनीलाई पनि संलग्न गराएका छन्।”
पक्राउ परेका दुवै जनामाथि लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ र अदालतबाट थुनामा राख्न अनुमति लिइएको छ।
यस्तै, सिरहा नगरपालिका–२ स्थित महावीर चोकनजिक शनिबार प्रहरीले स्रोत नखुलेको १६ लाख ३८ हजार रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका–१७ का सञ्जय कारक रहेको प्रहरीले जनाएको छ। उनी बीआर०६ ४६२९ नम्बरको मोटरसाइकलमा सवार थिए र उनको झोलाबाट सो रकम बरामद भएको डीएसपी पासवानले जानकारी दिएका छन्।
सिरहा प्रहरीले पछिल्लो समय लागुऔषध कारोबार नियन्त्रणमा सक्रियता बढाएको देखिएको छ।
प्रतिक्रिया