गाजा : पछिल्ला दुई महिनादेखि गाजा क्षेत्रमा इजरायली सेनाले गरेको सैन्य कारबाही दिनानुदिन तीव्र हुँदै गएको छ।
आइतबार मात्र गाजाका विभिन्न क्षेत्रमा गरिएको जमिनी आक्रमणमा १५१ जनाभन्दा बढीको मृत्यु भएको अल जजीराले जनाएको छ। यो हमला पछिल्लो दुई महिनामा इजरायलद्वारा गरिएको सबैभन्दा घातक कारबाही हो।
यसअघि मार्च १८ मा इजरायली आक्रमणमा ४ सयभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए। पछिल्ला चार दिनदेखि इजरायलले आक्रमणको तीव्रता बढाएको छ, जसमा करिब ४ सय जनाको मृत्यु भइसकेको छ।
गाजा क्षेत्रमा विद्यमान हमास विरुद्ध कारबाही गर्न इजरायलले मे ५ देखि ‘गिडोन केरियट्स’ नामको सैन्य अभियान सुरु गरेको थियो। इजरायली सेनाले हमासको पूर्ण अन्त्य नभएसम्म कारबाही जारी राख्ने जनाएको छ।
गाजामा मानवीय संकट गहिरिँदै जाँदा अन्तर्राष्ट्रिय समुदायबाट युद्धविरामको आह्वान चुलिँदै गएको छ। तर हालसम्म दुबै पक्षबीच सहमतिको संकेत देखिएको छैन।
प्रतिक्रिया