विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा कोशी प्रदेशसभा सदस्य (कोशी प्रदेशका सांसद) चढेको कार र नेपाल प्रहरीका डीएसपीले चलाएको कार एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।
झापाबाट विराटनगरतर्फ आउँदै गरेको बा ५ च ३५३० नम्बरको कार र झापातर्फ जाँदै गरेको बी एई १४०६ नम्बरको कार एकआपसमा ठोक्किएर सोमबार दिउँसो २ बजेतिर दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भने भएन ।
बी एई १४०६ नम्बरको कारमा कोशीका सांसदहरु मैयाँ श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए । प्रहरीका अनुसार प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर आउँदै गरेका बेला उनीहरु दुर्घटनामा परेका हुन् ।
लावती नेपाली कांग्रेस, धिमाल नेकपा (एमाले) र चाम्लिङ नेकपा (एकीकृत समाजवादी)का समानुपातिक सांसद हुन् । खनाल झापाको निर्वाचन क्षेत्र नम्बर ४ (क)बाट निर्वाचित एमाले सांसद हुन् ।
दुर्घटना भएका बेला उक्त कार झापाको दमक नगरपालिका–१ का ४० वर्षीय भेषराज श्रेष्ठले चलाएका थिए । प्रहरीका अनुसार दुर्घटना भएका बेला बा ५ च ३५३० नम्बरको कार झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले चलाएका थिए । उनी विराटनगरस्थित घरबाट कार्यक्षेत्र झापा फर्किदै गरेका बेला दुर्घटना भएको हो ।
घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय पथरीबाट इन्स्पेक्टर खगेन्द्र एक्तेन नेतृत्वको टोली घटनास्थल पुगेको थियो । दुर्घटनामा परेका दुवै कारमा सामान्य क्षति पुगेको र घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी जोशीले बताए
प्रतिक्रिया