प्रधानमन्त्री ओलीको दाबी - "मिशन ०८४ मा एमालेको एकल बहुमत सम्भव"

सोमबार, ०५ जेठ २०८२

काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालमा हुने निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन्।

सोमबार नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले यो लक्ष्य चुनौतीपूर्ण भए पनि सम्भव रहेको बताए।

उनले भने, “हामीले मिसन ०८४ को उद्देश्य लिएका छौं - एकल बहुमत ल्याउने। यो असम्भव होइन। समानुपातिक प्रणालीका कारण अन्य दललाई बहुमत आउन गाह्रो भए पनि एमालेका लागि यो सम्भव छ।”

प्रधानमन्त्री ओलीले वर्तमान राजनीतिक प्रणालीमा एमालेले सफलता हासिल गर्नसक्ने रणनीति बनाइसकेको उल्लेख गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखी सुशासन, स्थिरता, समृद्धि र अखण्डताको पक्षमा कार्य गरिरहेको बताए।

विपक्षी दलहरूले जनतालाई भ्रममा पार्न खोजेको आरोप लगाउँदै ओलीले भने, “हाम्रा विरोधीहरूले शान्ति, सुशासन र विकासप्रति नकारात्मक प्रचार गरिरहेका छन्। त्यसविरुद्ध जनताले आफैं एकताबद्ध हुनुपर्छ।”

उनले एमाले कुनै चटके जस्तो नाटक गर्ने जमात नभएको र पार्टी र आन्दोलन गहिरो विचार र लामो सङ्घर्षको परिणाम भएको बताएका छन्।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार