देश बन्दैन भन्ने धारणा गलत सावित गर्न कांग्रेसले नेतृत्व लिनैपर्छ : गगन थापा

सोमबार, ०५ जेठ २०८२

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले “देश बन्दैन” भन्ने नकारात्मक धारणा गलत सावित गर्न सक्ने गरी काम गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्।

काठमाडौंमा आज आयोजित ‘सान्दाजु’ उपन्यासको लोकार्पण समारोहमा बोल्दै थापाले नेपालको भविष्यप्रति युवामा बढ्दो निराशालाई रोक्न कांग्रेसले अग्रसर भएर विश्वास जगाउनुपर्ने बताए।

थापाले भने, “युवाको विदेशिनु नयाँ कुरा होइन, तर देश नै बन्द हुन्छ भन्ने सोच लिएर युवा पलायन हुनु डरलाग्दो अवस्था हो। त्यसैले अब कांग्रेसले अफ्ठ्याराबाट मुलुकलाई निकास दिने काम गर्नुपर्छ। हामीसँग बहानाको विकल्प छैन।”

उनका अनुसार कांग्रेस तीनै तहमा सरकारमा सहभागी हुँदा पनि कार्यकर्तामा उत्साहभन्दा असन्तुष्टि र छटपटी देखिएको छ। उनले पार्टीले अब सत्ता प्राप्तिको खेलभन्दा राष्ट्रको समस्या बुझ्न सक्ने राष्ट्रिय शक्ति बन्नुपर्नेमा जोड दिए।

थापाले लेखक घिमिरेको नयाँ उपन्यास ‘सान्दाजु’ को प्रशंसा गर्दै बीपी कोइरालाको विचारलाई नयाँ ढंगबाट प्रस्तुत गर्नु चुनौतीपूर्ण काम भएको उल्लेख गरे। “बीपीका विषयमा धेरै लेखिएको भए पनि कल्पनासँग मिश्रण गरेर कथा भन्नु सजिलो थिएन। यसले लोकतान्त्रिक विचार मात्र होइन, अन्य धारका पाठकलाई पनि सोच्न बाध्य बनाउँछ,” उनले भने।

लेखक शुभाष घिमिरेले उपन्यास बीपी कोइरालाको साहित्यकार, राजनीतिज्ञ र मानवतावादी व्यक्तित्वलाई समेट्दै लेखिएको बताए। “पुस्तकमा प्राप्त प्रतिक्रिया र सुझावले मलाई अझ हौसला दिएको छ,” उनले भने।

‘सान्दाजु’ को लोकार्पण ग्लोबल वुमन नेटवर्क र जय नेपाल इन्टरनेशनल फाउण्डेशनले संयुक्त रूपमा आयोजना गरेका थिए। शुभाष घिमिरेद्वारा लिखित यो उपन्यास बीपी कोइरालाको जीवनमा आधारित छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार