बिर्तामोडका सडक धमाधम कालोपत्र, १४ किलोमिटर सडक स्तरोन्नति अन्तिम चरणमा

बुधबार, ०७ जेठ २०८२

झापा : बिर्तामोड नगरपालिकामा हाल धमाधम सडक कालोपत्रको काम भइरहेका छन्। सङ्घ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा १४ किलोमिटरभन्दा बढी सडकको स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ।

सडक डिभिजन कार्यलयका सबइञ्जिनियर मदन साहका अनुसार हर्कलाल मार्ग, बुट्टाबारी (प्याकुरेल चोक) सडक, गोकुल जोशी मार्ग र सहिदचन्द्र मार्गलगायतका सडकमा कालोपत्र भइरहेको छ। यी सडकले नगरपालिकाको वडा नं. २, ३, ४, ६, ७ र ९ जोड्ने छन्। निर्माण लागत एक अर्बभन्दा बढी रहेको जनाइएको छ।

विश्व बैंकको आर्थिक सहयोगमा वडा नं. ६, ७ र ८ जोड्ने ६ किलोमिटर ,२५८ मिटर सडक आरपी समता जेभीले रु ५८ करोडमा निर्माण गरिरहेको छ। यो सडक जेठको तेस्रो सातासम्म सम्पन्न हुने लक्ष्य रहेको छ।

सहिद चन्द्रमार्गको दुई किलोमिटर सडक तीन खण्डमा विभाजन गरी कालोपत्र भइरहेको छ। यो सडक बिर्तामोडलाई हल्दिबारीसँग जोड्ने मुख्य मार्ग हो। सिद्धीथुम्का एभरग्रिन जेभी, ट्रस्ना निर्माण सेवा र नाम्लाक निर्माण सेवाले तीन खण्डमा क्रमशः रु ५.६ करोड, रु ६८ लाख र रु १.५ करोडमा काम गरिरहेका छन्।

चारपाने–घैलाडुब्वा सडक (१ किमी), जसले वडा नं. २ र ३ हुँदै कनकाई नगरपालिकालाई जोड्छ, शान्ति निर्माण सेवा प्रालिले रु ६ करोडमा निर्माण गरिरहेको छ।

हर्कलाल मार्गको स्तरोन्नति पनि तीन खण्डमा भइरहेको छ, जसमा दोस्रो खण्डको कालोपत्र सकिएको छ भने पहिलो र अन्तिम खण्डमा काम जारी छ। पहिलो खण्डमा रु १.१३ करोड, दोस्रोमा रु ६ करोड र अन्तिम खण्डमा रु १.११ करोडको ठेक्का लागेको हो।

यस्तै, कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको समपूरक बजेट रु २.६ करोडमा लालमाटी चोक पश्चिम खण्डसम्मको सडक स्तरोन्नतिको काम पनि तीव्र रूपमा अगाडि बढिरहेको छ।

नगर प्रमुख पवित्रा प्रसाईँले सडक स्तरोन्नतिको निरन्तर अनुगमन भइरहेको जानकारी दिइन्।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार