फणिदेव महत स्मृतिमा पत्रकारिता पुरस्कार घोषणा

शुक्रबार, ०९ जेठ २०८२

महोत्तरी : प्रेस चौतारी नेपाल मधेश प्रदेश समितिले दिवंगत पत्रकार फणिदेव महतको स्मृतिमा वार्षिक पत्रकारिता पुरस्कार स्थापना गरेको छ।

बिहीबार बर्दिबासमा सम्पन्न पहिलो बैठकले महतको सम्मानमा २५ हजार राशीको पुरस्कार प्रत्येक वर्ष प्रदान गर्ने निर्णय गरेको हो।

महत प्रेस चौतारी नेपाल मधेश प्रदेशका संस्थापक अध्यक्ष थिए, जसको बैशाख ३० गते असामयिक निधन भएको थियो।

प्रदेश समितिका अध्यक्ष लालबाबु शेखका अनुसार पुरस्कारका लागि अक्षय कोष स्थापना गरिनेछ, जसलाई सबल बनाउन प्रत्येक जिल्लाबाट ५० हजार र प्रदेश समितिबाट एक लाख रुपैया योगदान गरिने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ।

बैठकले फागुनमा वीरगन्जमा मधेश सञ्चार सम्मेलन आयोजना गर्ने निर्णय पनि गरेको छ। यस अवसरमा प्रशिक्षण कार्यक्रम र वैचारिक यात्रा आयोजना गरिने छ। इन्चार्ज अच्युत पौडेलका अनुसार प्रदेश समिति एक वर्षे कार्ययोजनासहित उत्साहपूर्वक अघि बढेको छ।

बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको प्रमुख आतिथ्यतामा विभिन्न केन्द्रीय पदाधिकारी, जिल्ला अध्यक्ष तथा अग्रज व्यक्तित्वको सहभागिता थियो। बैठकको अध्यक्षता लालबाबु शेखले र सहजीकरण महासचिव दिवाकर भण्डारीले गरेका थिए।

यसैबीच, बैठकपछि चौतारीको टोलीले रौतहट पुगेर फणिदेव महतको परिवारलाई भेटेर समवेदना प्रकट गरेको छ। अध्यक्ष पाण्डेले महतकी पत्नी सुनन्दा महतलाई ६० हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्दै छोराहरूको शिक्षाका लागि संगठनबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार