पूर्वराष्ट्रपति भण्डारी आज चीन प्रस्थान गर्दै, दुई उच्चस्तरीय कार्यक्रममा दिनेछिन् सम्बोधन

शनिबार, १० जेठ २०८२

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीनको राजधानी बेइजिङ प्रस्थान गर्दैछिन्। शनिबार राति एयर चाइनाको उडान (CZ3068) मार्फत ग्वाङ्झाओ हुँदै उनी बेइजिङ पुग्ने कार्यक्रम तय गरिएको छ।

भण्डारी आइतबार बिहान ११ः५५ बजे बेइजिङ अवतरण गर्नेछिन्।

पूर्वराष्ट्रपति भण्डारी चीनको भ्रमण क्रममा दुईवटा महत्वपूर्ण कार्यक्रमहरूमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछिन्।

पहिलो कार्यक्रम सोमवार आयोजना हुनेछ, जसमा चीनसहितका छिमेकी मुलुकका राजनीतिक दलहरूका प्रतिनिधिहरूबीच संवाद हुनेछ।

दोस्रो कार्यक्रम शुक्रबार हुनेछ, जहाँ नागरिकस्तरको अनुभव आदानप्रदान तथा पारस्परिक सिकाइसम्बन्धी चौथो संवाद कार्यक्रम आयोजना हुनेछ।

भ्रमणका क्रममा भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ सरकारका उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ।

उनको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, नेकपा एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ, एमाले स्थायी समिति सदस्य कर्णबहादुर थापा, केन्द्रिय सल्लाहकार गोमा देवकोटा, प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्ट लगायत १४ जना रहेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार