बराहक्षेत्र,(सुनसरी) : २०७९ सालको स्थानीय तह निर्वाचनपछि कार्यभार सम्हालेका बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधिहरूले आफ्नो तीन वर्षे कार्यकाल पुरा गरेका छन् । नगरप्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवारसहितका जनप्रतिनिधिहरूले २०७९ जेठ ११ गते पदभार ग्रहण गरेका थिए । तीन वर्षको अवधिमा नगरपालिकाले पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन र विपद् व्यवस्थापन लगायतका क्षेत्रहरूमा उल्लेखनीय प्रगति गरेको छ ।
जनप्रतिनिधिहरूले आफ्नो कार्यकालको सुरुवातदेखि नै भौगोलिक रूपमा ठुलो र प्राकृतिक प्रकोपप्रति संवेदनशील रहेको बराहक्षेत्र नगरलाई सुरक्षित, समृद्ध र व्यवस्थित नगर बनाउने लक्ष्यसहित काम गरेका छन् । नगरप्रमुख कार्कीका अनुसार तीन वर्षमा नगरपालिकाले ‘समृद्ध वराहक्षेत्रको आधार : कृषि, पर्यटन र दिगो पूर्वाधार’ भन्ने नारालाई कार्यान्वयनको धरातलमा उतार्न थालिसकेको छ ।
विपद् व्यवस्थापनमा सक्रियता
विपद्का बेला नगरपालिकाले “जहाँ अभाव, त्यहाँ नगर” भन्ने भावनासहित नागरिकको सुरक्षामा चासो दिएको पाइन्छ । बाढीपीडित श्रीलङ्का टप्पुवासीको उद्धारदेखि राहत, पुनः स्थापनासम्म नगरपालिका निरन्तर लागिरहेको छ । प्राकृतिक विपद्का बेला राहत वितरण, उद्धार, सरसफाइ तथा अतिक्रमण हटाउने काममा पनि नगरपालिका अग्रसर देखिएको छ ।
सडक र पूर्वाधार निर्माणमा ठुला फड्को
बराहक्षेत्रका दुर्गम गाउँहरू जस्तै सिल्लापाखा, बाक्सिङटार, बान्दै चौँरी, कटहरे, चियाबारी लगायत स्थानहरूमा मोटर बाटो विस्तार गरियो । चक्रघट्टी, सोमवारे, नेता चौक, कोशीपारी लगायत क्षेत्रहरूमा शहरी सडक र कालोपत्रे सडक निर्माण भए । बाङ्गे–धरान र कालाबन्जार–धरान सडक विस्तारको नेतृत्व पनि नगरपालिकाले गर्यो । चतरा मिलन चौकदेखि सूर्य कुण्डसम्मको सडक एसियाली विकास बैङ्कको सहकार्यमा कालोपत्रे गर्ने योजना पार्न सफल भयो ।
स्वास्थ्य सेवामा गुणात्मक सुधार
चक्रघट्टीमा आँखा उपचार केन्द्र स्थापना, मोतिया बिन्दु शल्यक्रिया, निःशुल्क स्वास्थ्य शिविर, दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा, कोशीपारीमा प्रसूति गृह निर्माण लगायतका काम नगरपालिकाले अघि बढायो । नगर अस्पतालमा आकस्मिक सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापनसहितको भौतिक पूर्वाधार निर्माण सम्पन्न गरियो । ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्यकर्मीमार्फत जाँच तथा परामर्श सेवा सुरु गरिएको छ ।
शिक्षामा गुणस्तरीय सुधार
तत्कालीन आधारभूत विद्यालयहरू – गरैयास्थित जनता आधारभूत र सूर्य कुण्ड स्थित विद्यालयलाई माध्यमिक तहमा स्तरोन्नति गरिएको छ । विद्यालय अनुगमन, शिक्षक प्रोत्साहन, अनुपस्थित शिक्षकहरूमा कारबाही, सुत्केरी शिक्षिकाको विकल्प व्यवस्थापन, विद्यार्थीमा प्रतिस्पर्धा बढाउन पुरस्कार, बाल शिक्षिका प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ ।
धार्मिक र पर्यटकीय क्षेत्रको प्रवर्द्धन
धार्मिक स्थल बराहक्षेत्र मन्दिर, औलिया मठ, चतराधाम, छिनामस्ता मन्दिर, सूर्य कुण्डलगायतलाई केन्द्र बनाएर सौन्दर्यीकरण तथा भौतिक संरचना निर्माण गरियो । मुन्धुम पदमार्गको सिलन्यास, साँझकालीन आरतीको थालनी, पर्यटक मैत्री पूर्वाधार निर्माण, हेरिटेज संरक्षण तथा प्रचारप्रसारका कामहरू उल्लेखनीय छन् ।
बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई व्यवस्थित रूपमा सम्पन्न गरियो, जसमा झन्डै ७० लाख भक्तजनको सहभागिता रह्यो । राष्ट्रपतिको समेत उपस्थिति रहेको उक्त मेलाले वराहक्षेत्रको धार्मिक र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याएको छ ।
सामाजिक उत्तरदायित्व र पारदर्शिता
हैटा खोला र चक्रघट्टी बजार क्षेत्रका अतिक्रमण हटाइयो । बजार अनुगमन, सार्वजनिक संरचना संरक्षण, श्रमदानबाट योजना सञ्चालन, सामाजिक सुरक्षा भत्ता वृद्धि, सुत्केरी आमालाई एम्बुलेन्स खर्च बापतको सहयोग, भूमिहीन, सुकुम्वासीलाई निस्सा वितरण तथा नापी कार्य सम्पन्न गरियो ।
समृद्धिको आङ्कलन : पुरस्कार र मान्यता
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा ९१ अङ्क प्राप्त गर्दै बराहक्षेत्र नगरपालिका उत्कृष्ट नतिजा हासिल गर्न सफल रह्यो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कनमा ६७ अङ्क प्राप्त गर्दै सुनसरी जिल्लामै प्रथम बन्न सफल रह्यो ।
थप महत्त्वपूर्ण उपलब्धिहरू
बराहक्षेत्र नगरपालिका ‘धरान–वराहक्षेत्र–रामधुनी धार्मिक सर्किट’ योजनामा सामेल।महिला स्वयंसेविका तथा युवा सिपमूलक तालिम कार्यक्रम सञ्चालन।
कृषिमा धान प्रवर्द्धन, कृषकलाई उपकरण अनुदान, पशु परीक्षण तथा शिविर सञ्चालन।
नगरभित्रका ५५ नयाँ सहर योजनामध्ये वराहक्षेत्रलाई ११ औँ नम्बरमा समावेश गराउने सफलता।
खेलकुद प्रवर्द्धनमा पहिलो पटक लिग फुटबल प्रतियोगिता आयोजना।
सप्तकोसी क्याम्पसलाई शैक्षिक सामग्री सहयोग तथा बस प्रदान।
साप्ताहिक सरसफाइ अभियान सञ्चालन।
स्थानीय पत्रकार सम्मान र पुरस्कृत।
नगर प्रमुख रमेश कार्कीको नेतृत्वमा नगरपालिकाले भौतिक पूर्वाधारदेखि सामाजिक रूपान्तरणसम्मको यात्रामा उल्लेखनीय पाइला चालेको छ ।
नागरिकसँगको सिधा सम्पर्क, पारदर्शिता, जिम्मेवारीपन र योजनाबद्ध विकास कार्यकै कारण बराहक्षेत्र नगरपालिका प्रदेश १ का उत्कृष्ट नगरहरूमध्ये एकको रूपमा स्थापित हुँदै गएको छ ।
प्रतिक्रिया