काठमाडौँ । पूर्व गृह मन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले पूर्व डिएसपी गोविन्द पन्थीले लगाएको आरोपको खण्डन गरेको छ।
पन्थीले त्रिभुवन विमानस्थलमा भिजिट भिसा अनियमितता अनुसन्धान गर्दा श्रेष्ठले सरुवा गरेको जनाएका थिए, जसको श्रेष्ठका स्वकीय सचिव उपदेश यादवले खण्डन गरेका हुन् ।
यस्तो छ, उनको खण्डन:
प्रहरी सेवाबाट रिटार्यड भएर कानुन व्यवसाय गरिरहेका पूर्व डिएसपी गोविन्द पन्थीको पूर्व उपप्रधान एवं गृहमन्त्रीको नामसमेत जोडिएको फेसबुक स्ट्याटस पढेँ। तथ्यलाई तोडमोड गरेर बदनियत पूर्वक लेखिएको प्रायोजित स्ट्याटस भ्रम सृजना गर्ने उद्देश्य प्रेरित देखिन्छ। जसले आफैलाई खण्डित गर्दै अन्तर्निहित दुष्नियतको समेत भण्डाफोर गरेको छ ।तथापि तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालय प्रमुखको नाताले तत् सम्बन्धमा केही विषय स्पष्ट पार्न चाहेको छु।
पहिलो, भिजिट भिसामा विद्यमान बेथिति र विसङ्गतिलाई अन्त्य गरेर अगाडि बढ्न तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्रीले अध्यागमन कार्यालय र विभागको स्थलगत निरीक्षण सहित स्पष्ट रूपमा कडा निर्देशन दिनुभयो ।
दोस्रो, सरोकारवाला पक्षको सुझावहरूलाई मनन गर्दै भिजिट भिसासम्बन्धी निर्देशिकाको अनावश्यक प्रावधानहरू (ट्राभल हिस्ट्री अनिवार्य, प्लस टू पास भएको हुनुपर्ने लगायतका) हटाएर त्यसलाई सरलीकृत गर्ने नीतिगत सुधारको काम गरियो । यसका साथै पटक पटक अध्यागमन कार्यालय जाने र बेथितिको धन्दा चलाउने प्रवृत्तिलाई रोक्न पहिलो पटक अध्यागमन कार्यालय सम्बन्धी सरुवा कार्यविधिसमेत जारी गर्ने र लागू गर्ने काम भयो ।
तेस्रो, अध्यागमनमा भिजिट भिसासँग जोडिएको बेथिति र विसङ्गति पूर्णतः अन्त्य हुन नसकेको सूचनाको आधारमा मन्त्रीज्यूले तत्कालीन प्रहरी नेतृत्व, अपराध अनुसन्धान कार्यालय प्रमुखसहितलाई मन्त्रालयमा डाकेर आवश्यक निगरानी बढाउन र अनुसन्धानलाई तीव्रता दिन प्रत्यक्ष निर्देशित गर्नुभयो । यसपश्चात् अपराध अनुसन्धान कार्यालयले ‘अप्रेसन’ चलायो । त्यस क्रममा केही कर्मचारी र बिचौलिया रंगेहात समातिएको तथ्य जगजाहेर नै छ ।
गृह प्रशासन नजिकबाट बुझ्नेलाई के थाहा छ भने, गृहमन्त्रीको इच्छाशक्ति बिना त्यस प्रकारको कारबाही असम्भव प्रायः हुन्छ । तत्पश्चात् पनि अनुसन्धानमा कुनै मोल मोलाहिजा नगर्न स्पष्ट निर्देशन दिनुभएको तत्कालीन प्रहरी नेतृत्व र टिमलाई जगजाहेर नै छ । यस क्रममा झन्डै ३९ जना पक्राउ गरिएको र ८ जना अध्यागमन कर्मचारी लगायतलाई मुद्दा दायर भएको ब्यहोरासमेत स्मरण गराउन चाहन्छु ।
चौथो, यसरी निर्ममतापूर्वक अनुसन्धान अगाडि बढाइएपछि इतिहासमै पहिलो पटक अध्यागमनबाट बाहिरिन खोज्ने कर्मचारीको मन्त्रालयमा ताँती लाग्यो । कर्मचारीहरू अध्यागमनमा जान नमान्ने स्थिति देखापर्यो । दरबन्दीभन्दा बढी अधिकृत थुप्रिएर भरिभराउ हुने कार्यालयमा पहिलोचोटी दरबन्दीभन्दा कम अधिकृतबाट सेवा सुचारु गराउनुपर्ने अवस्था समेत सृजना भयो ।
पाँचौँ, मन्त्री र सचिवालयसँग कुनै व्यक्तिगत चिनजान र सरोकार नभएका पूर्व प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीजीले आफ्नो सरुवा भएकोमा तत्कालीन मा. उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको नाम जोड्नुभएछ। यद्यपि हामी हुँदा उहाँको सरुवा भएको होइन भन्ने कुरा उहाँ आफैले भन्नुभएको छ। तर मन्त्रीबाट हटिसके पछि पनि पूर्व मन्त्रीकै निर्देशनमा सरुवाको निर्णय गरिएको हास्यास्पद कुतर्क गर्नु भएको छ ।
त्यस क्रममा के भएको थियो भनी तत्कालीन प्रहरी प्रमुखसँग बुझ्दा अवधि पुगेकोले नियमानुसार सरुवा गरिएको तर जिल्ला इन्चार्जको अर्को जिम्मेवारी दिँदा समेत नगएर त्यहीँबाट रिटायर्ड हुनुभएछ। त्यसैले निजको भनाई प्रथम दृष्टिमा सुनियोजित दुष्प्रचार हो भन्ने स्पष्ट हुन्छ ।
तसर्थ सुशासनको पक्षमा निरन्तर कर्म गरिरहेको तत्कालीन मन्त्री, टिम र सरकारलाई आक्षेप लगाउन खोज्नुले ‘एटेन्सन सीकर’ का रूपमा आफ्नो वकालती पेसाको पब्लिसिटीका लागी गरिएको पनि हुन सक्छ।
तर आजको सन्दर्भमा त्यो भन्दा पनि गम्भीर कुरा यतिका समयसम्म चुपचाप बसेर मानव तस्करसँगको साँठगाँठमा ‘दैनिक ५० लाख असुल्ने’ गरिएको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको “रेड”सँगै सार्वजनिक भएपछि यसलाई विषयान्तर गर्न पूर्व डिएसपी साबलाई कसैले दुरुपयोग गरेको हुन सक्छ ।
अर्थात् अहिले पर्दाफास भएको अध्यागमनको भ्रष्टाचार र कारवाहीको लागि व्यापक रूपमा बढिरहेको जनदबाबबाट ध्यान अन्यत्र मोड्न त्यो षडयन्त्रको अङ्ग बनेर प्रस्तुत भएको हुन सक्छ । साथै देशको आजको मुख्य आवश्यकता भ्रष्टाचार एवं अनियमितता विरुद्धको सुशासन अभियान भएकाले भ्रष्टाचार विरोधी सुशासनको पक्षधर मूल नेतृत्वहरूमाथि प्रहार केन्द्रित गर्दै सुशासन अभियानलाई निरुत्साहित र कमजोर पार्ने अझ ठुलो षडयन्त्रको अङ्ग अन्तर्गतको यो एउटा कडीको रूपमा आएको पनि हुन सक्दछ ।
मलाई विश्वास छ, नेपाली जनता र समाजले यस प्रकारको दुष्प्रचारलाई पर्दाफास गर्नेछ । र सुशासन अभियानलाई नारायणकाजी श्रेष्ठ जस्ता नेताहरूको अगुवाइमा अझ प्रभावकारी रूपमा अघि बढाइनेछ भन्ने स्पष्ट छ । पूर्व डिएसपी पन्थी जी र लगायतले यो सत्यलाई समयमै बुझ्नु राम्रो हुन्छ । सुशासनको पक्षमा दृढ र निर्भिक तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र टिमलाई तत्कालीन प्रधानमन्त्री क. प्रचण्डको आड भरोसा र अभिभावकत्व समेत प्राप्त थियो।
र अन्तमा सुशासनको प्रचण्ड प्रकाश प्रज्वलित गर्ने स्वर्णिम कार्यकालको नेतृत्वप्रति गौरव बोध सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछु। 🙏
प्रतिक्रिया