ग्यास लिक भएर आगलागी हुँदा २४ वर्षीय दाजु र १८ वर्षीया बहिनीको मृत्यु

सोमबार, १२ जेठ २०८२
फाइल तस्बिर

कपिलवस्तु । कपिलवस्तुमा ग्यास सिलिण्डर विष्फोट भई आगलागी हुँदा दाजु–बहिनीको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका ५ जयनगर हतिया दोवानी बस्तीमा आइतबार राति ग्यास चुल्होमा खाना पकाउने क्रममा जलेर दाजु–बहिनीकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

ग्यास विष्फोटपछि आगलागीमा परी २४ वर्षीय शिवकुमार यादव र उनकी १८ वर्षीया बहिनी सोनाम यादवको मृत्यु भएको हो । कपिलवस्तुका एसपी निरन्जन दत्त भट्टका अनुसार खाना पकाउने क्रममा रेगुलेटरबाट एक्कासी ग्यास लिक भइ आगलागी हुँदा घटना भएको हो ।

आगोमा जलेर गम्भीर घाइते दाजु–बहिनीलाई उपचारका लागि राति नै युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको थियो । उपचारकै क्रममा सोनमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यहाँ उपचार सम्भव नभएपछि शिव कुमारलाई थप उपचारका लागि भारतको गोरखपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । दुवैको शव हाल पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार