बैठक बोलाउन बालेनलाई उपमेयर सुनिता डङ्गोलको ७ दिने अल्टिमेटम

सोमबार, १२ जेठ २०८२

काठमाडौं : काठमाडौं महानगरपालिकामा लामो समयदेखि नगर कार्यपालिकाको बैठक नबसेको भन्दै उपमेयर सुनिता डङ्गोलको नेतृत्वमा मेयर बालेन शाहलाई कार्यपालिका बैठक बोलाउन ७ दिने अल्टिमेटम दिइएको छ।

 सोमबार महानगरका पदाधिकारी र कार्यपालिका सदस्यहरूको संयुक्त हस्ताक्षरसहित डङ्गोलले मेयर शाहलाई लिखित रूपमा पत्र बुझाएकी हुन्।

पत्रमा उल्लेख भएअनुसार, पछिल्लो पटक कार्यपालिका बैठक गत वर्ष पौष १४ गते बसेको थियो। त्यसयता कुनै बैठक नबसेको भन्दै उनीहरूले नगरपालिकाको सञ्चालन प्रक्रियामा गम्भीर प्रश्न उठाएका छन्।

 पत्रमा ७ दिनभित्र बैठक नबोलाइए संविधान र कानुनले तोकेको प्रक्रिया अनुसार अगाडि बढ्ने चेतावनीसमेत दिइएको छ।

बैठक माग गर्ने पत्रमा रास्वपाबाट निर्वाचित एक मात्र वडाध्यक्ष रोजिना श्रेष्ठले पनि हस्ताक्षर गरेकी छन् । श्रेष्ठ निर्वाचित भएयता कार्यपालिका बैठक एक पटक पनि नबसेको गुनासो गर्दै बैठकको आवश्यकता झनै जोड दिएकी छन्।

महानगरपालिकाको प्रमुख कार्यकारी प्रमुख भएर पनि मेयर बालेन शाह कार्यशैलीका कारण एक्लिँदै गएको चर्चा यतिबेला महानगरभित्र तीव्र छ। कार्यपालिका बैठक नबसी नगरको नीतिगत निर्णयहरू रोकिएको र पारदर्शिता कमजोर भएको आरोप कार्यपालिका सदस्यहरूले उठाउँदै आएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार