'गृहमन्त्रीले संसदमा जवाफ होइन, अख्तियारमा बयान दिन जाने हो'

मंगलबार, १३ जेठ २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले गृहमन्त्री रमेश लेखकमाथि नैतिकताको प्रश्न उठेकाले उनले राजीनामा दिएर अनुसन्धानको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । आज (मंगलबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले अब गृहमन्त्री लेखकले जवाफ दिने भन्दा पनि राजीनामा दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको बेलामा बयान दिन जानु उपयुक्त हुने बताए ।

‘गृहमन्त्रीज्यूमाथि प्रश्न उठिसकेपछि उहाँले जवाफ दिने होइन, राजीनामा दिने हो । अब बयान दिने हो क्या, जवाफ दिने होइन । उभियुक्त हुनुभयो, अभियुक्तले बयान दिन्छ कि भाषण गर्छ ? अभियुक्तले कानुनी कठघरामा गएर अख्तियारले बोलाएको बेलामा बयान दिने हो, जवाफ दिने होइन । राजीनामा दिनुपर्छ । राजीनामा हाम्रो प्रष्ट माग छ, त्योभन्दा दायाबाँया हुँदैन,’– उनले भने ।

साथै, माओवादीले पदाधिकारी बैठक नै बसेर गृहमन्त्री लेखकको राजीनामा माग गरिसकेको उनले बताए । नेता दाहालले गृहमन्त्रीको अस्वभाविक संलग्नता थिएन भने कर्मचारीलाई अदलीबदली गर्न आवश्यक नै नरहेको उनको भनाइ छ । गृहमन्त्री लेखकले बदमास र बदमासी गर्न सक्ने कर्मचारी छानीछानी राखेको उनको आरोप छ । ‘गृहमन्त्रीको बारेमा, गृह प्रशासनसँग जोडिएको विषयमा हामी प्रष्ट छौं, माओवादीप्रति आशंकित हुनुपर्ने कुनै कारण छैन,’– उनले भने ।

नेता दाहालले गृहमन्त्री लेखक निर्दोष हो भन्ने बुढानीलकण्ठलाई कुनै अधिकार नरहेको बताए । निर्दोष छन् भने सफाइ पाउने र दोषी भए जेल जाने भन्दै उनले गृहमन्त्री लेखकले निष्पक्षता र तटस्थताको जगमा अनुसन्धान प्रक्रियालाई सहयोग गर्न राजीनामा दिनुपर्ने बताए ।

‘निर्दोष छन् भने सफाइ पाउँछन्, कमजोरी छ भने जेल जान्छन् । छानविन प्रक्रियालाई सहयोग गर्न उहाँले राजीनामा दिनुपर्छ । बन्दुक समाइराखेपछि अनुसन्धान प्रक्रियामा प्रभाव पर्छ । निष्पक्षता र तटस्थताको जगमा अनुसन्धान प्रक्रियालाई सहयोग गर्न उहाँले राजीनामा दिनुपर्यो,’– उनले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार